बि.स. : २०८३ बैशाख १६, बिहिबार

व्यापारी अग्रवाल भारतमा मृत फेला परे

Aarya News Desk 3401  पटक हेरिएको

वीरगन्ज। वीरगन्ज महानगरपालिका-६ माइस्थानका एक व्यापारी भारतमा मृत फेला परेका छन्।

माइस्थान घर भएका ५० वर्षीय सुनील कुमार अग्रवाल भारत बिहारको पुर्वी चम्पारणको छौडादानोस्थित रेल्वे क्षेत्रमा मृत अवस्थामा फेला परेका हुन्।

वीरगन्जको घण्टाघर नजिकै रहेको पशुपति इलेक्ट्रिकका सञ्चालक अग्रवाल आइतबार बिहान घरबाट मर्निङ वाकमा निस्किएका थिए। सधै मर्निङ वाक सकेर बिहानै ८ बजे घर फर्किने गरेका थिए।

तर आइतबार बिहान मर्निङ वाकमा निस्किएका अग्रवाल दिउँसोसम्म पनि घर नफर्किएपछि परिवारका सदस्यले सबैतिर खोजी गरेपनि उनको अवस्थाबारे पत्ता लागेको थिएन।

साँझ अचानक भारतीय प्रहरीले वीरगन्जस्थित नेपाल प्रहरीलाई खबर गरी अग्रवाल छौडादानो रेल्वे क्षेत्रमा मृत फेला परेको जानकारी गराएको पर्साका प्रहरी प्रवक्ता प्रहरी नायब उपरीक्षक दिपक गिरीले जानकारी दिए।

गिरीले वीरगन्ज नाकामा जडान गरिएको सीसीटीभीको फुटेजमा अग्रवाल बिहान ६ बजेतिर एक्लै पैदल भारततर्फ गएको देखिएको बताए।

गिरीका अनुसार अग्रवालको मृत्युको कारण खुलिसकेको छैन। शवको बिहारकै मोतिहारीमा पोष्टमार्टम गरी आवश्यक प्रक्रिया पूरा गरेर शव वीरगन्ज ल्याउने तयारी भइरहेको गिरीले बताए।

घटनाको भारतीय प्रहरीले पनि अनुसन्धान गरिरहेको प्रहरी नायब उपरीक्षक गिरीले जानकारी दिए।

प्रकाशित मिति: २०२२-१२-१२ , समय : १०:३४:४६ , ३ वर्ष अगाडि

error: Content is protected !!