बि.स. : २०८२ माघ २६, सोमबार

भाषण गरेर मिचेको भूमि फिर्ता नआउने:प्रधानमन्त्री देउवा

Aarya News Desk 1883  पटक हेरिएको

डडेल्धुरा। प्रधानमन्त्री तथा नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले भाषण गरेर मिचेको भूमि फिर्ता नआउने बताएका छन्।

भूमि फिर्ता ल्याउन र सीमा विवाद मिलाउन कूटनीतिक सम्बन्ध र वार्ताबाट मात्रै सम्भव रहेको उनले बताए। ‘भाषणले भूमि फिर्ता हुँदैन, त्यसका लागि कूटनीतिक पहल आवश्यक हुन्छ त्यो हामीले गरिरहेका छौं’, प्रधानमन्त्री देउवाले भने। डडेल्धुराको अजयमेरु गाउँपालिका-२ भद्रपुरमा आयोजित संयुक्त लोकतान्त्रिक वाम गठवन्धनको चुनावी सभालाई सम्बोधन गर्ने क्रममा प्रधानमन्त्री देउवाले एमाले अध्यक्ष केपी ओलीलाई लक्षित गर्दै भाषणले सीमा विवाद समाधान नहुने बताएका हुन्।

एमाले अध्यक्ष ओलीले दार्चुलामा आयोजित चुनावी सभामा लिपुलेक र लिम्पियाधुरा फिर्ता ल्याउने कुराका बारेमा बोलेका थिए। तर, देउवाले भने भारत र चीनसँगका सीमा विवाद वार्ता र कूटनीतिक पहलका आधारमा समाधान हुने बताए।

बिहीबारदेखि गृह जिल्लामा रहेका देउवाले शनिबार पनि जिल्लाका दुईवटा चुनावी सभालाई सम्बोधन गरेका छन्। जिल्लाको अजयमेरु गाउँपालिकाको भद्रपुर र भागेश्वरको रूपालका चुनावी सभालाई सम्बोधनका क्रममा देउवाले ओलीले हावादारी गफ मात्र दिने गरेको बताए।

यसै क्रममा देउवाले आफू सुदूरपश्चिमको स्थायीवासी भएकाले पनि यहाँको भूमि, विकास निर्माण, आर्थिक समृद्धिका बारेमा आफूलाई मात्र थाहा भएको ठोकुवा गरे। यसका साथै डडेल्धुरासहित सुदूरपश्चिमको सम्पूर्ण विकासका लागि पहल गरिरहेको उनको भनाइ छ।

प्रधानमन्त्री देउवाले आइतबार आलितालको गगोदाम र परशुराम नगरपालिकाका दुई चुनावी कार्यक्रमलाई सम्बोधन गर्ने कार्यक्रम छ।

 

प्रकाशित मिति: २०२२-११-०५ , समय : २१:२१:३८ , ३ वर्ष अगाडि

error: Content is protected !!