सर्लाही । नेपाली कांग्रेसका नेता तथा पूर्व विधायक उपेन्द्र प्रसाद कुशवाहाले आगामी स्थानीय तह निर्वाचनमा सर्लाहीको गोडैता नगरपालिकाको नगर प्रमुख पदमा आफ्नो उम्मेदवारी रहने दाबी गरेका छन्।
गोडैता नगरपालिका–१२ मा नेपाली कांग्रेसद्वारा आयोजित चियापान तथा शुभकामना आदान–प्रदान कार्यक्रममा बोल्दै कुशवाहाले आगामी निर्वाचनमा नगर प्रमुख पदका लागि आफूले उम्मेदवारी दिने दाबी गरेका हुन्। उनले आगामी निर्वाचनमा आफूले जित हासिल गर्ने ठोकुवासमेत गरे।
कार्यक्रममा कुशवाहाले विगतका निर्वाचनमा टिकट वितरणका क्रममा भएका गल्तीका कारण पार्टीले पराजय व्यहोर्नुपरेको स्वीकार गर्दै आगामी निर्वाचनमा ती कमजोरी सुधार गरेर अघि बढ्नुपर्ने बताए। विगतका गल्तीबाट पाठ सिक्दै पार्टीलाई निर्वाचनमा सफल बनाउन सबै नेता तथा कार्यकर्ता एकजुट भएर लाग्नुपर्ने उनको भनाइ थियो।
त्यस्तै, नेपाली कांग्रेसका पूर्व सभापति सुरेन्द्र प्रसाद सिंहले गोडैतामा स्थानीय नेता तथा कार्यकर्ताको सहमतिका आधारमा उम्मेदवारको टिकट वितरण गरिने बताए। निर्वाचन जित्न सक्ने उम्मेदवारलाई टिकट दिइने स्पष्ट पार्दै उनले आगामी स्थानीय तह निर्वाचनमा सक्रिय भएर लाग्न पार्टीका नेता तथा कार्यकर्तालाई आग्रह गरे।
नेपाली कांग्रेसका नगर सभापति अरबिन्द पटेलको सभापतित्व तथा मधेस प्रदेशका पूर्व स्वास्थ्य मन्त्री वीरेन्द्र प्रसाद सिंहको प्रमुख आतिथ्यतामा कार्यक्रम सम्पन्न भएको थियो।
कार्यक्रममा जिल्ला समन्वय समिति सर्लाहीका सभापति कौशल किशोर सिंह, नेपाली कांग्रेसका केन्द्रीय सदस्य मनिष मिश्र, पूर्व सभापति सुरेन्द्र प्रसाद सिंह, बलरा नगरपालिकाका पूर्व प्रमुख अभय प्रसाद सिंह, महिला नेत्री सुभद्रा देवी, गोडैता नगरपालिकाका सबै वडाका सभापति, पार्टीका नेता–कार्यकर्ता तथा शुभचिन्तकहरूको उल्लेखनीय सहभागिता रहेको थियो।
कार्यक्रमको सञ्चालन नगर समिति सचिव रामकरण ठाकुरले गरेका थिए।
प्रकाशित मिति: २०२६-१०-२४ , समय : २१:१०:४४ , २ हप्ता अगाडि