बि.स. : २०८३ कार्तिक २०, बिहिबार

के तपाईं रास्वपाबाट चुनाव लड्न चाहनुहुन्छ? उम्मेदवार बन्ने ढोका खुल्यो, तर पूरा गर्नुपर्छ यस्ता कडा सर्त!

Aarya News 10791  पटक हेरिएको

रास्वपाबाट चुनाव लड्न चाहनुहुन्छ भने अब चुनाव लड्ने रहर गरेर मात्रै हुँदैन, आफ्नो राजनीतिक पृष्ठभूमिदेखि सम्पत्ति विवरण र व्यक्तिगत आचरणसम्मको हिसाब दिनुपर्ने भएको छ। राष्ट्रिय स्वतन्त्र पार्टी अर्थात् रास्वपाले आगामी स्थानीय निर्वाचनका लागि उम्मेदवार बन्न चाहनेहरूलाई लक्षित गर्दै ‘नगरपालिका क्यान्डिडेट क्लब’ को आवेदन खुला गरेको छ।

पालिका प्रमुख बन्ने होस्, उपप्रमुख, वडाध्यक्ष वा वडा सदस्य—इच्छुक व्यक्तिले अब पार्टीको आधिकारिक मोबाइल एपमार्फत आवेदन दिन सक्नेछन्। तर, आवेदन खुला हुँदैमा जोकोहीले उम्मेदवार बन्न पाउँछन् भन्ने होइन। रास्वपाले उम्मेदवार बन्न चाहनेहरूका लागि उमेर, पार्टी सदस्यता, कानुनी योग्यता र व्यक्तिगत आचरणसम्मका विभिन्न सर्त अघि सारेको छ।

उम्मेदवार बन्न नेपाली नागरिक हुनुपर्नेछ। मनोनयन दर्ताको अन्तिम मितिसम्म २१ वर्ष उमेर पूरा भएको हुनुपर्नेछ भने सम्बन्धित पालिका वा वडाको मतदाता नामावलीमा नाम समावेश भएको हुनुपर्नेछ। साथै, प्रचलित कानुनले उम्मेदवार बन्न अयोग्य ठहराएको व्यक्ति यस प्रक्रियामा सहभागी हुन पाउने छैन।

अझ रोचक कुरा त पार्टी सदस्यताको समयसीमा पनि फरक–फरक तोकिएको छ। पहिलोपटक राजनीतिमा आबद्ध भएर पालिका प्रमुख, उपप्रमुख वा वडाध्यक्ष बन्न चाहनेले रास्वपाको सदस्यता लिएको कम्तीमा ४५ दिन पूरा गरेको हुनुपर्नेछ। अन्य दल छाडेर रास्वपा प्रवेश गरेकाहरूका लागि भने ९० दिनको अवधि तोकिएको छ।

तर, वडा सदस्य बन्न चाहनेका लागि यो समयसीमा छोटो छ। पहिलोपटक राजनीतिक दलमा आबद्ध भएकाले तीन दिन र अन्य दलबाट रास्वपा प्रवेश गरेकाले सात दिन पूरा गरेपछि आवेदन दिन सक्नेछन्।

त्यति मात्रै होइन, उम्मेदवार बन्न चाहनेले आफ्नो सम्पत्ति विवरण, प्रहरी चारित्रिक प्रमाणपत्र र आवश्यक शैक्षिक प्रमाणपत्रसमेत पेस गर्नुपर्नेछ। शैक्षिक योग्यतासम्बन्धी विवरण सही रहेको स्वघोषणा पनि गर्नुपर्ने व्यवस्था गरिएको छ।

व्यक्तिगत आचरणका विषयमा पनि रास्वपाले विभिन्न विवरण मागेको छ। घरेलु हिंसा, यौनजन्य दुर्व्यवहार, सार्वजनिक स्थलमा अमर्यादित व्यवहार, साइबर बुलिङ, चरित्रहत्या वा अनलाइन ठगीजस्ता गतिविधिमा संलग्न रहे–नरहेको खुलाउनुपर्नेछ। मिटरब्याज, सट्टेबाजी, हप्ताअसुली, ढुकुटी, हुन्डी तथा सहकारीको बचत अपचलनजस्ता आर्थिक गतिविधिबारे पनि विवरण दिनुपर्नेछ।

त्यस्तै, आफू वा एकाघरका परिवारका सदस्यको ठेक्कापट्टा, विकास निर्माण, खरिद प्रक्रिया वा सार्वजनिक आपूर्तिमा संलग्नताका कारण स्वार्थ बाझिने अवस्था छ कि छैन भन्ने कुरा पनि खुलाउनुपर्नेछ। अदालत वा सम्बन्धित निकायमा फौजदारी, भ्रष्टाचार, ठगी तथा गम्भीर प्रकृतिका मुद्दा विचाराधीन छन् कि छैनन् भन्ने विवरणसमेत मागिएको छ।

कानुनले अयोग्य ठहराएका, तोकिएका गम्भीर कसुरमा सजाय पाएका वा अन्य कानुनी प्रतिबन्धमा परेका व्यक्तिका हकमा उम्मेदवारीसम्बन्धी प्रचलित व्यवस्था लागू हुनेछ।

तर, यहाँ एउटा महत्त्वपूर्ण कुरा छ—क्यान्डिडेट क्लबमा आवेदन दिनु नै उम्मेदवारका रूपमा अन्तिम छनोट हुनु होइन। आवेदन दिएपछि आकांक्षीहरूले नेतृत्व एकेडेमीको प्रशिक्षण, विभिन्न परीक्षण र मूल्यांकन प्रक्रियासमेत पार गर्नुपर्नेछ।

रास्वपाले सुशासन, पारदर्शिता, नागरिक उत्तरदायित्व, नैतिक आचरण र नेतृत्व क्षमतालाई आधार बनाएर उम्मेदवार अघि बढाउने लक्ष्य राखेको जनाएको छ।

अब प्रश्न उठ्छ—यी मापदण्डले स्थानीय तहमा योग्य र जिम्मेवार नेतृत्व छनोट गर्न कत्तिको मद्दत गर्लान्? अनि आवेदन दिने आकांक्षीमध्ये कति जना अन्तिम उम्मेदवार बन्न सफल होलान्? यसको जवाफ भने आगामी छनोट प्रक्रियाले देखाउनेछ।

प्रकाशित मिति: २०२६-१०-१५ , समय : २१:१३:१३ , ३ हप्ता अगाडि

error: Content is protected !!