इरानको कुर्दिस्तान प्रान्तमा पेट्रोल बोकेको ट्याङ्कर र मिनीबस आपसमा ठोक्किँदा भएको भीषण दुर्घटनामा ११ जनाको मृत्यु भएको छ भने ७ जना घाइते भएका छन्।
सानन्दज–हमादान राजमार्गअन्तर्गत सानन्दज शहरको प्रवेशद्वारनजिकै शनिबार साँझ करिब ५ः३० बजे दुर्घटना भएको हो। प्रारम्भिक विवरणअनुसार २० हजार लिटर पेट्रोल बोकेको ट्याङ्करले मिनीबसलाई ठक्कर दिएपछि दुवै सवारीसाधनमा आगलागी भएको थियो।
दुर्घटनामा ट्याङ्कर र मिनीबसका चालकसहित ११ जनाको ज्यान गएको जनाइएको छ। घाइतेहरूको स्थानीय अस्पतालमा उपचार भइरहेको छ।
कुर्दिस्तान न्याय विभागको जनसम्पर्क कार्यालयलाई उद्धृत गर्दै इरानी समाचार एजेन्सी इरनाले दुर्घटनाको प्रारम्भिक अनुसन्धानबाट ट्याङ्करको ब्रेकमा आएको प्राविधिक समस्याका कारण घटना भएको हुनसक्ने जनाएको छ। यद्यपि दुर्घटनाको वास्तविक कारणबारे थप अनुसन्धान जारी रहेको बताइएको छ।
घटनाप्रति दुःख व्यक्त गर्दै कुर्दिस्तानका गभर्नरले प्रान्तभर दुई दिनको सार्वजनिक शोक घोषणा गरेका छन्।
प्रकाशित मिति: २०२६-०९-०६ , समय : १५:१८:४२ , २ महिना अगाडि