देवानगञ्ज । रसुवाको भोटेकोशीमा आएको भीषण बाढीमा परी ज्यान गुमाएका प्रहरी कर्मचारीका परिवारलाई नेपाल प्रहरीले जनही १० लाख रुपैयाँ राहत उपलब्ध गराउने निर्णय गरेको छ।
प्रहरी महानिरीक्षक दानबहादुर कार्कीको अध्यक्षतामा बसेको नेपाल प्रहरीको नीति निर्माण समिति बैठकले नियमावलीअनुसार प्राप्त हुने सेवा–सुविधाका अतिरिक्त मृतक प्रहरीका परिवारलाई राहतस्वरूप जनही १० लाख रुपैयाँ उपलब्ध गराउने निर्णय गरेको हो।
प्रहरीले राहत रकमसँगै दिवंगत प्रहरी कर्मचारीले नेपाल प्रहरी कल्याण कोषबाट लिएको विशेष सापटी ऋणसमेत मिनाहा गर्ने निर्णय गरेको छ।
त्यस्तै, मृतक प्रहरीका परिवारबाट इच्छुक एक जनालाई सीपमूलक तालिम प्रदान गरी रोजगारीका लागि आवश्यक पहल गर्ने तथा नेपाल प्रहरी स्कुलमा सन्ततिलाई शैक्षिक शुल्क मिनाहा गरी अध्ययनको व्यवस्था मिलाउने निर्णय भएको छ।
यसैबीच, राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणका अनुसार भोटेकोशी बाढीपछि हालसम्म २५ जना प्रहरी कर्मचारी सम्पर्कविहीन रहेका छन्।
बाढीमा आफ्ना सहकर्मी गुमाएको नेपाल प्रहरीले पीडित परिवारलाई राहत, रोजगारी र शिक्षाको व्यवस्था गर्ने निर्णय गरेको हो।
प्रकाशित मिति: २०२६-०९-०३ , समय : १४:५६:५५ , २ महिना अगाडि