विराटनगर । सुनसरीको देवानगञ्ज गाउँपालिका–३ स्थित कप्तानगञ्जमा डिजे बजाएको विषयलाई लिएर भएको हत्याकाण्डपछि उत्पन्न परिस्थिति पछि जिल्लाका विभिन्न स्थानमा घर, पसल, निजी सम्पत्ति तथा धार्मिकस्थलमा प्रदर्शनकारीबाट क्षति पुगेको थियो।
सोही क्रममा भोक्राहा नरसिंह गाउँपालिका–४ चिरौलीचोकमा बेचन साहले सञ्चालन गरेको पान पसल, सन्तोष पौदारको पान पसल र पंकज साहको चिया पसलमा आगजनी, तोडफोड तथा आगो लगाई खरानी बनाएको थियो। वर्षौंदेखि सानो व्यवसाय सञ्चालन गरेर परिवारको जीविकोपार्जन गर्दै आएका उनीहरूका लागि पसलमा भएको क्षति आम्दानीको स्रोत गुम्नुका साथै पुनः व्यवसाय सञ्चालन गर्न थप आर्थिक भार थपिन पुगेको छ।
घटनापछि अवस्था सामान्य बन्दै गएसँगै पीडित पसल सञ्चालकहरू आफ्नै खर्चमा क्षतिग्रस्त संरचना मर्मत–सम्भार गरी पुनः पसल सञ्चालन गर्ने तयारीमा लागेको छ। उनीहरूको उद्देश्य कुनै विवाद बढाउनु नभई बन्द भएको व्यवसाय पुनः सञ्चालन गरेर परिवारको दैनिक गुजारा चलाउनु हो।
तर, पसल मर्मत गरेर पुनः व्यवसाय सञ्चालन गर्ने तयारी गरिरहेका बेला भोक्राहा नरसिंह गाउँपालिका–४ का वडा अध्यक्ष हारुण अंसारीले ती पसलमा तत्काल मर्मत–सम्भार नगर्न जिल्ला प्रशासन कार्यालय सुनसरीलाई पत्र पठाई अवरोध गरेका छन्।
वडा कार्यालयको लेटरप्याडमा पठाइएको पत्रमा कप्तानगञ्ज घटनाको विरोधमा प्रदर्शन गर्ने क्रममा चिरौलीचोकमा रहेका उक्त पसलमा आगजनी, तोडफोड पछी आगो लागाई पुर्न क्षती भएको उल्लेख गर्दै तत्काल मर्मत–सम्भार गर्दा ‘द्वन्द्व चर्किने अवस्था सिर्जना हुन सक्ने’ भन्दै पसललाई हालकै अवस्थामा राख्न अनुरोध गरिएको छ।
पसल सञ्चालकहरू भने आफूहरू घटनाबाट पीडित भएको अवस्थामा पसल मर्मत गरेर पुनः जीविकोपार्जनमा फर्किन खोज्दा समेत रोक लगाउने प्रयास वडा अध्यक्ष अंसारीबाट भएको भन्दै दुःखि बनेका छन्। उनीहरूका लागि पसल केवल व्यापार गर्ने ठाउँ नभई परिवार पाल्ने मुख्य आधार भएकाले लामो समयसम्म बन्द राख्नुपर्दा दैनिक खर्च चलाउनसमेत समस्या हुने अवस्था रहेको बताउँछन्।
‘पसलमा क्षति भएपछि त्यसैलाई मर्मत गरेर फेरि काम गर्न खोजेका हौँ। हाम्रो परिवारको गुजारा यही पसलबाट चल्छ। घटना हामीले गराएका होइनौँ, तर क्षति हामीले व्यहोर्नुपरेको छ। अब पसल पनि खोल्न नपाउने हो भने हामीले परिवार कसरी पाल्ने’ पीडित पसल सञ्चालकहरूको भनाइ छ।
उनीहरूले घटनाको अनुसन्धान गर्नुपर्ने भए सम्बन्धित निकायले आफ्नो प्रक्रिया अघि बढाउनुपर्ने तर अनुसन्धानका नाममा पीडितको रोजीरोटी नै रोक्न नहुने बताएका छन्। प्रमाण संकलन आवश्यक भए सम्बन्धित निकायले पसलको क्षति अभिलेखीकरण, फोटो तथा अन्य प्रमाण सुरक्षित गरेर मर्मतको बाटो खोल्नुपर्ने उनीहरूको माग छ।
तर, घटनापछि सामाजिक सद्भाव कायम गर्नुपर्ने, सबै मिलेर बस्नु पर्ने, सद्भाव र्याली निकाल्नमा समेत मुख्य भुमिका खेल्ने वडा अध्यक्ष अंसारीकै कार्यालयबाट क्षतिग्रस्त पसल मर्मत गरी पुनः व्यवसाय सञ्चालन गर्न खोजिरहेका पीडित व्यवसायीलाई अवरोध हुने गरी प्रशासनमा पत्र पठाइएपछि उनको भूमिकामाथि प्रश्न उठेको छ।
एकातिर सद्भाव र शान्तिको कुरा गर्ने, अर्कोतिर हिंसात्मक घटनाबाट पीडित भई आफ्नो रोजीरोटी पुनः सुरु गर्न खोजिरहेका व्यवसायीको पसल मर्मतमा रोक लगाउन प्रशासनलाई पत्र पठाउने कार्यले वडा अध्यक्ष अंसारीको भूमिकामा दोहोरोपन देखिएको स्थानीयहरुको आरोप छ।
प्रदर्शनको क्रममा समेत वडा अध्यक्ष अंसारी आफनै नेतृत्वमा युवाहरुलाई भेला गरी प्रदर्शन उग्र बनाएको आरोप लागेको थियो पछि पत्रकार सम्मेलन गरेर सफाई समेत दिएका थिए ।
वडा अध्यक्ष अंसारी नेपाल मुस्लिम संघ सुनसरीको अध्यक्ष समेत रहेको छ।

प्रकाशित मिति: २०२६-०८-१२ , समय : ०८:२९:५५ , २ घन्टा अगाडि