बि.स. : २०८३ साउन १६, शनिबार

वैदेशिक रोजगारीको प्रलोभनमा ठगी गर्ने ९ जना पक्राउ

Aarya News Desk 5307  पटक हेरिएको

काठमाडौं। आकर्षक रोजगारीको प्रलोभन देखाउँदै विदेश पठाइदिने भन्दै रकम असुलेर फरार भएका ९ जनालाई प्रहरीले पक्राउ गरेको छ।

काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालय, टेकुले विभिन्न जिल्लाका ९ जनालाई पक्राउ गरेको हो। उनीहरूले मौरिसस, सेसेल्स, अमेरिका, क्यानडा, कम्बोडिया र यूएई लगायतका देशमा रोजगारी मिलाइदिने आश्वासन दिएर पीडितहरूबाट लाखौंदेखि करोडौं रुपैयाँसम्म उठाएको आरोप छ।

प्रहरीका अनुसार सबैभन्दा ठूलो रकम ठगीको आरोप बर्दियाका राजेश क्षेत्री, मकवानपुरका तिर्थमान भोलन र नुवाकोटका गोवर्धन नेपालीमाथि छ। उनीहरूले ३१ जना युवाबाट वैदेशिक रोजगारीको नाममा कुल १ करोड ४१ लाख ५१ हजार रुपैयाँ संकलन गरी सम्पर्कविहीन बनेको उजुरी परेको थियो।

यस्तै, अन्य पक्राउ परेकाहरूले पनि अमेरिका, क्यानडा, मौरिसस, कम्बोडिया र यूएई पठाइदिने बहानामा विभिन्न व्यक्तिबाट रकम लिएको आरोप छ।

पीडितहरूको उजुरीपछि खोजी तीव्र बनाएको प्रहरीले उनीहरूलाई विभिन्न स्थानबाट नियन्त्रणमा लिएको जनाएको छ।

पक्राउ परेकामध्ये तीन जनालाई थप अनुसन्धानका लागि जिल्ला प्रहरी परिसर काठमाडौं पठाइएको छ भने बाँकीलाई वैदेशिक रोजगार विभाग, ताहाचलमा बुझाइएको प्रहरीले जनाएको छ।

वैदेशिक रोजगारीका नाममा हुने ठगीका घटना बढिरहेकाले कुनै पनि रकम बुझाउनुअघि सम्बन्धित म्यानपावर कम्पनी र प्रक्रिया अनिवार्य रूपमा बुझ्न प्रहरीले सर्वसाधारणलाई आग्रह गरेको छ।

प्रकाशित मिति: २०२६-०६-०३ , समय : १३:४४:१० , २ महिना अगाडि

error: Content is protected !!