काठमाडौँ। विश्व हिन्दू परिषद् नेपालले संविधान संशोधनका विषयमा सरकारसमक्ष धर्मनिरपेक्षता हटाएर नेपाललाई पुनः हिन्दूराष्ट्र घोषणा गर्नुपर्ने प्रस्ताव पेश गरेको छ। प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय अन्तर्गत गठित ‘संविधान संशोधन सुझाव संकलन कार्यदल–२०८२’ लाई परिषद्ले आफ्नो संस्थागत धारणा तथा लिखित सुझाव बुझाएको हो।
परिषद्का राष्ट्रिय अध्यक्ष पुरुषोत्तम भण्डारीद्वारा हस्ताक्षरित सुझावपत्रमा नेपालको मौलिक पहिचान, सनातन संस्कृति, राष्ट्रिय एकता तथा सामाजिक सद्भाव जोगाउन संविधानमा आवश्यक संशोधन गर्नुपर्ने उल्लेख गरिएको छ।
परिषद्ले संविधानको धारा ४ मा रहेको “धर्मनिरपेक्ष” शब्द हटाई नेपाललाई सनातन मूल्य र मान्यतामा आधारित हिन्दूराष्ट्रका रूपमा पुनःस्थापना गर्नुपर्ने प्रस्ताव अघि सारेको छ। परिषद्का अनुसार हिन्दू, बौद्ध र किरात परम्परासहितको सनातन सभ्यता नेपालको ऐतिहासिक पहिचान भएकाले त्यसलाई संवैधानिक रूपमा पुनःस्थापित गर्न आवश्यक रहेको दाबी गरिएको छ।
त्यसैगरी, धारा ४ अन्तर्गत रहेको धर्मनिरपेक्षतासम्बन्धी स्पष्टीकरण समेत हटाउनुपर्ने सुझाव परिषद्ले दिएको छ। नेपाललाई स्पष्ट रूपमा हिन्दूराष्ट्र घोषणा गरिएपछि धर्मनिरपेक्षताको थप व्याख्या आवश्यक नरहने परिषद्को तर्क छ।
धारा २६ सम्बन्धी सुझावमा परिषद्ले धर्म परिवर्तनलाई नियन्त्रण गर्ने कानुनी व्यवस्था थप कडा बनाउनुपर्ने उल्लेख गरेको छ। लोभ, दबाब, प्रभाव वा संगठित गतिविधिमार्फत गरिने धर्मान्तरणलाई दण्डनीय बनाउनुपर्ने तथा यस्ता गतिविधिले राष्ट्रिय पहिचान र सामाजिक सद्भावमा दीर्घकालीन असर पार्न सक्ने परिषद्को दाबी छ।
यसैबीच, सरकारी कामकाज, सार्वजनिक सूचना तथा आधिकारिक प्रकाशनहरूमा देवनागरी लिपिमा नेपाली भाषा र विक्रम संवत्को अनिवार्य प्रयोग गर्नुपर्ने प्रस्ताव पनि परिषद्ले अघि सारेको छ। यसबाट राष्ट्रिय एकता र मौलिक पहिचान अझ सुदृढ हुने विश्वास परिषद्ले व्यक्त गरेको छ।
परिषद्ले आफ्नो सुझाव विभिन्न सरोकारवालासँगको छलफल र अध्ययनपछि तयार गरिएको जनाएको छ। साथै संविधान संशोधन प्रक्रियामा आफ्ना सुझावलाई सकारात्मक रूपमा समेटिने अपेक्षा समेत व्यक्त गरेको छ।
प्रकाशित मिति: २०२६-०५-२१ , समय : १३:२३:४२ , ३ हप्ता अगाडि