बि.स. : २०८२ चैत्र २५, बिहिबार

ओली र लेखक हाजिरी जमानतमा रिहा हुने

AARYA NEWS DESK 2275  पटक हेरिएको

काठमाडौं। पूर्वप्रधानमन्त्री तथा नेकपा एमाले अध्यक्ष केपी शर्मा ओली र पूर्वगृहमन्त्री रमेश लेखक हाजिरी जमानतमा रिहा हुने भएका छन्। सर्वोच्च अदालतको आदेशपछि जिल्ला प्रहरी परिसर काठमाडौंले दुवै नेतालाई रिहा गर्ने प्रक्रिया अघि बढाएको हो।

जिल्ला प्रहरी परिसर काठमाडौंका प्रवक्ता पवन भट्टराईका अनुसार सरकारी वकिलको सहमतिमा आवश्यक पर्दा उपस्थित हुने शर्तसहित दुवैजनालाई रिहा गर्ने निर्णय गरिएको छ।

भदौ २३ र २४ गते भएको ‘जेनजी आन्दोलन’ सम्बन्धी घटनाको छानबिनका लागि गठित जाँचबुझ आयोगले फौजदारी मुद्दामा अनुसन्धान गर्न सिफारिस गरेपछि प्रहरीले ओली र लेखकलाई नियन्त्रणमा लिएको थियो। अनुसन्धानका क्रममा काठमाडौं जिल्ला अदालतले तीन पटकसम्म म्याद थप गरेको थियो।

पक्राउपछि केपी शर्मा ओली स्वास्थ्य उपचारका लागि अस्पतालमा राखिएका थिए भने रमेश लेखक लाई महाराजगञ्जस्थित सशस्त्र प्रहरीको गणमा राखिएको थियो।

यसैबीच बन्दी प्रत्यक्षीकरणको रिटमाथि सुनुवाइ गर्दै सर्वोच्च अदालतले चैत २३ गते चौथो पटक म्याद नथप्न र अनुसन्धान सकिएपछि हिरासत मुक्त गर्न परमादेश दिएको थियो। सोही आदेशअनुसार बुधबार म्याद सकिएपछि दुवैजनालाई रिहा गर्न लागिएको हो।

म्याद सकिएसँगै अब उनीहरू हाजिरी जमानतमा बाहिर रहनेछन् भने आवश्यक परेको बेला अनुसन्धानमा उपस्थित हुनुपर्नेछ।

प्रकाशित मिति: २०२६-०४-०९ , समय : ११:४९:१८ , ४ घन्टा अगाडि

error: Content is protected !!