काठमाडौं । रसुवागढी नाका मा १५ दिनका लागि व्यावसायिक कारोबार बन्द गरिने भएको छ। स्याफ्रु–रसुवागढी सडक खण्ड को स्तरोन्नतिका लागि काम सुरु हुन लागेसँगै भोलि (अप्रिल १) देखि यस्तो व्यवस्था लागू गर्न लागिएको हो।
रसुवा भन्सार कार्यालयका प्रमुख भन्सार अधिकृत तुलसीप्रसाद भट्टराईका अनुसार सडक स्तरोन्नतिका क्रममा हरेक महिना १५ दिन सडक बन्द गरिनेछ। त्यसअनुसार अप्रिल, मे र जुन महिनाको पहिलो १५ दिन (अप्रिल १–१५, मे १–१५ र जुन १–१५) सडक पूर्ण रूपमा बन्द रहनेछ।
गल्छी–त्रिशूली–मैलुङ–स्याफ्रुवेशी–रसुवागढी सडक आयोजना ले अत्यावश्यक बाहेक अन्य सवारी साधन सञ्चालनमा पूर्ण रोक लगाइने जनाएको छ। अप्रिल १ देखि “चाइना एड स्याफ्रुवेशी–रसुवागढी रिपेयर एन्ड इम्प्रुभमेन्ट प्रोजेक्ट” सुरु हुने बताइएको छ।
यस सडक खण्डको स्तरोन्नति चिनियाँ निर्माण कम्पनी Xizang Tianlu ले गर्नेछ। निर्माण कार्यका क्रममा जोखिमयुक्त स्थानमा सामग्री र मेसिनरी राख्नुपर्ने तथा सुरक्षालाई ध्यानमा राख्दै सडक बन्द गर्नुपर्ने अवस्था आएको योजनाले जनाएको छ।
यद्यपि, आपतकालीन र अति आवश्यक सवारीसाधनलाई भने निर्माण पक्षले सहजीकरण गर्नेछ। अन्य सवारी साधन सञ्चालनमा भने रोक लगाइनेछ।
स्याफ्रु–रसुवागढी सडकको कुल लम्बाइ १७ किलोमिटर रहेको छ, जसमध्ये १५.८ किलोमिटर खण्ड चिनियाँ पक्षले स्तरोन्नति गर्नेछ। हाल एक लेनको कच्ची सडक रहेको यस मार्गलाई कालोपत्रेसहित दुई लेनको बनाइनेछ।
यो स्तरोन्नति योजना २०७७ चैतमै अघि सारिएको भए पनि नेपाली पक्षबाट गर्नुपर्ने तयारी समयमै पूरा नहुनु र COVID-19 महामारीका कारण काम ढिलाइ भएको थियो।
प्रकाशित मिति: २०२६-०३-३१ , समय : २१:५०:४४ , २ दिन अगाडि