देवानगञ्ज । महाशिवरात्रिको पावन अवसरमा देवानगञ्ज गाउँपालिकामा पहिलो पटक हिन्दु सम्मेलन कार्यक्रम सम्पन्न भएको छ। विश्व हिन्दु परिषद् नेपाल देवानगञ्ज गाउँपालिका समितिको आयोजनामा सम्पन्न उक्त कार्यक्रम हिन्दु राष्ट्र पुनःस्थापनाको मागलाई केन्द्रीय विषय बनाएर आयोजना गरिएको हो।
आयोजकका अनुसार राजनीतिक दल तथा उम्मेदवारहरूले आफ्नो घोषणापत्र र प्रतिबद्धता पत्रमा नेपाललाई पुनः हिन्दु राष्ट्र घोषणा गर्ने विषय समावेश गर्नुपर्ने मागसहित सम्मेलन आयोजना गरिएको हो। सम्मेलनमार्फत हिन्दु समुदायको आवाज सशक्त रूपमा उठाउने उद्देश्य रहेको परिषद्ले जनाएको छ।
कार्यक्रमका प्रमुख अतिथि तथा विश्व हिन्दु परिषद् नेपाल कोशी प्रदेश अध्यक्ष देवेन्द्र गुप्ताले नेपाल ऐतिहासिक, सांस्कृतिक तथा धार्मिक आधारमा हिन्दु राष्ट्र नै रहेको उल्लेख गर्दै राज्य व्यवस्था जुनसुकै भए पनि मुलुकलाई हिन्दु राष्ट्र घोषणा गर्नुपर्ने धारणा व्यक्त गर्नुभयो। परिषद् कुनै राजा वा विशेष राजनीतिक दलको पक्षमा नभई हिन्दु राष्ट्रको पक्षमा रहेको स्पष्ट पार्दै उहाँले सबै हिन्दुवादी शक्तिहरूलाई एकजुट हुन आह्वान गर्नुभयो।
विशिष्ट अतिथि तथा पूर्व संविधानसभा सदस्य मुङ्गालाल मेहताले धर्म निरपेक्षताको घोषणा तत्कालीन राजनीतिक परिस्थितिको उपज भएको दाबी गर्दै हिन्दु राष्ट्र स्थापनाका लागि सबै संघ–संस्थाबीच समन्वय आवश्यक रहेको बताउनुभयो। हिन्दु राष्ट्रको अभियानमा आफूले सक्दो सहयोग गर्ने प्रतिबद्धता पनि उहाँले जनाउनुभयो।
देवानगञ्ज गाउँपालिका वडा नं. २ का वडा अध्यक्ष जगनारायण मेहताले समाज सुधार बिना राष्ट्र सुदृढ हुन नसक्ने धारणा व्यक्त गर्नुभयो। अरूलाई दोषारोपण गर्नुभन्दा आत्मसमीक्षा र आत्मसुधार आवश्यक रहेको बताउँदै वर्तमान हिन्दु समाजले जिम्मेवारीपूर्वक भूमिका निर्वाह गर्नुपर्नेमा जोड दिनुभयो। जिम्मेवारीबाट विचलित भए भविष्यमा चुनौतीहरू सामना गर्नुपर्ने अवस्था आउन सक्ने उहाँको भनाइ थियो।
कार्यक्रममा हिन्दु स्वयंसेवक संघ कोशी प्रदेश सम्भाग कार्यवाह श्रवण यादवले परिषद्को उद्देश्य, संगठन संरचना तथा हालसम्मका गतिविधिबारे जानकारी गराउनुभयो भने सम्भाग व्यवस्था प्रमुख अरविन्द ठाकुरले हिन्दुत्वको ऐतिहासिक पृष्ठभूमि, सांस्कृतिक महत्व तथा समसामयिक सन्दर्भमा यसको आवश्यकताबारे विचार व्यक्त गर्नुभयो।
विश्व हिन्दु परिषद् नेपाल देवानगञ्ज गाउँपालिका अध्यक्ष सिवेन्द्र मेहताको अध्यक्षतामा सम्पन्न उक्त कार्यक्रममा विभिन्न हिन्दुवादी संघ–संस्थाका प्रतिनिधि, स्थानीय अगुवा तथा सर्वसाधारणको उपस्थिति रहेको थियो। कार्यक्रममा रमेश बाबु थापा, धिमा अधिकारी र बुधनारायण यादवलगायतले पनि आ–आफ्नो धारणा राख्दै हिन्दु राष्ट्रको पक्षमा ऐक्यबद्धता जनाएका थिए।
सम्मेलनले देवानगञ्जबाट हिन्दु राष्ट्रसम्बन्धी बहसलाई थप सशक्त बनाउने अपेक्षा आयोजकहरूले व्यक्त गरेका छन्।
प्रकाशित मिति: २०२६-०२-१६ , समय : १९:२३:०० , २ महिना अगाडि




