बि.स. : २०८२ चैत्र १८, बिहिबार

समानुपातिकतर्फको बन्दसूचीबाट ७६ उम्मेदवार हटाइए

AARYA NEWS DESK 8716  पटक हेरिएको

वि.स . २०८२ साल फागुन २१ गते सम्पन्न हुने प्रतिनिधि सभा सदस्य निर्वाचनको समानुपातिक निर्वाचन प्रणालीतर्फ राजनीतिक दलहरूले पेस गरेका उम्मेदवारहरूको बन्दसूचीसम्बन्धी उजुरीमाथि निर्वाचन अधिकृतको कार्यालयले अध्ययन तथा छानबिन गरेको छ।

परेका उजुरी, प्रचलित कानून बमोजिम तोकिएका उम्मेदवारको योग्यता तथा अयोग्यतासम्बन्धी व्यवस्था, निर्वाचन आयोगबाट विभिन्न मितिमा भएका निर्णय तथा राजनीतिक दलहरूबाट प्राप्त जानकारीका आधारमा उम्मेदवारहरूको विवरण रुजु गर्दा ७६ जना उम्मेदवारको नाम बन्दसूचीबाट हटाउने निर्णय भएको निर्वाचन अधिकृतको कार्यालयले जनाएको छ।

कार्यालयका अनुसार कर्जा सूचना केन्द्रको कालो सूचीमा रहेका २१ जना, प्रदेश सभा सदस्यको समानुपातिक निर्वाचन प्रणालीतर्फको बन्दसूचीमा नाम कायम रहेका २५ जना, निर्वाचन आयोगबाट तोकिएको जरिवाना नतिरेका १० जना, पच्चीस वर्ष उमेर पूरा नभएका ४ जना, मतदाता नामावलीमा नाम समावेश नभएका १ जना, मतदाता नामावलीमा पिछडिएको क्षेत्रबाट नपरेका २ जना तथा महिला उम्मेदवार पेस हुनुपर्ने स्थानमा पुरुष उम्मेदवार पेस गरिएको १ जनाको नाम हटाइएको हो।

यसैगरी, सम्बन्धित राजनीतिक दलबाट नै नाम हटाउन लिखित रूपमा अनुरोध गरिएका १० जना उम्मेदवार रहेका छन् भने एकभन्दा बढी कारणका आधारमा अयोग्य ठहरिएका २ जना उम्मेदवार पनि रहेका छन्।

यस सम्बन्धी विस्तृत विवरण निर्वाचन आयोगको आधिकारिक वेबसाइट www.election.gov.np मा उपलब्ध रहेको निर्वाचन अधिकृतको कार्यालयले जानकारी दिएको छ।

प्रकाशित मिति: २०२६-०२-०३ , समय : १०:१५:५५ , २ महिना अगाडि

error: Content is protected !!