गोरखा। अँबुवा–बिर्दी–सेरा–पौवाटार सडक कालोपत्रेको काम लामो समयदेखि अलपत्र परेपछि स्थानीयवासीले निर्माण कम्पनी, आयोजना कार्यालय र दातृ निकायका प्रतिनिधिलाई बाटो छेकेर घेराबन्दी गरेका छन्।
१६ किलोमिटर सडक कालोपत्रेको जिम्मा लिएको अमर कन्स्ट्रक्सन, कार्यक्रम कार्यान्वयन गर्ने ग्रामीण सडक सञ्जाल सुधार आयोजना कार्यान्वयन एकाइ पोखरा तथा कर्जा प्रवाह गर्ने निकाय एसियाली विकास बैंक (एडीबी) का प्रतिनिधि संयुक्त अनुगमनमा पुगेका बेला स्थानीयले विरोध जनाएका हुन्।
अनुगमनका क्रममा पालुङटार नगरपालिकाका निवर्तमान मेयर दीपकबाबु कँडेलले काम लामो समयसम्म अलपत्र पारेको विषयमा आपत्ति जनाउँदै जिम्मेवारी कसले लिने हो भन्ने प्रश्न उठाए। उनले योजना माग गर्न धेरै प्रयास गर्नुपरेको तर कार्यान्वयन नहुँदा जनतामा आक्रोश बढेको बताए।
निर्माण कम्पनी अमर कन्स्ट्रक्सनका सञ्चालक विक्रम शाहीले कार्यक्रम कार्यान्वयन एकाइबाट समयमै ‘भीओ अप्रुभ’ नपाएको तथा साइट ढिलो हस्तान्तरण भएकाले काम ढिलाइ भएको दाबी गरे। उनले अब तीन दिनभित्र प्राइम कटको काम सुरु गर्ने बताए। ग्रामीण सडक सञ्जाल सुधार आयोजना कार्यान्वयन एकाइ पोखराका प्रमुख दयाराम अधिकारीले कार्यालयमा जनशक्ति कम भएकाले काम प्रभावित भएको बताए। उनका अनुसार एक जना कार्यालय प्रमुख र एक जना इन्जिनियरले गण्डकी प्रदेशका पाँचवटा कार्यक्रमको जिम्मेवारी सम्हाल्नुपरेको छ।
तर दातृ निकाय एडीबीका कार्यक्रम प्रमुख हेमन्त तिवारीले यी दुवै पक्षका तर्क स्वीकार नगरेको बताए। उनले अन्य स्थानमा समान संरचनामा सञ्चालन भएका कार्यक्रमहरूमा ६५ प्रतिशतसम्म प्रगति भइसकेको उल्लेख गर्दै यो आयोजनामा लापरबाही भएको टिप्पणी गरे। उनले छिट्टै काम अघि नबढे ठेक्का तोड्न सिफारिस गर्ने चेतावनीसमेत दिए।
अनुगमनका क्रममा फेब्रुअरीभित्र १५ प्रतिशत थप प्रगति नभए म्याद थप नगर्ने र ठेक्का तोड्ने सहमति भएको जनाइएको छ। सम्झौताअनुसार आउँदो चैत १३ भित्र कालोपत्रे सम्पन्न गर्नुपर्ने भए पनि हालसम्म सो आयोजनाको प्रगति ३० प्रतिशतमा सीमित रहेको छ।
अमर भीबीईपीएल–एसीपीएल जेभी निर्माण कम्पनीले उक्त १६ किलोमिटर सडक ३० करोड ६१ लाख रुपैयाँमा कालोपत्रे गर्ने गरी सन् २०२३ मार्च ३१ मा ठेक्का सम्झौता गरेको हो।
प्रकाशित मिति: २०२६-०२-०१ , समय : ०९:२५:३२ , १ हप्ता अगाडि