बि.स. : २०८२ माघ २६, सोमबार

आज सरस्वती पूजा अर्थात् वसन्त पञ्चमी

Aarya News Desk 10613  पटक हेरिएको

आज सरस्वती पूजा अर्थात् वसन्त पञ्चमी हो। ऋतुहरूको राजा मानिने वसन्तको आगमनसँगै मनाइने यो पर्व ज्ञान, कला र सिर्जनाको उत्सवका रूपमा लिइन्छ। वसन्त ऋतुको सुरुवात भएकाले यस दिनलाई वसन्त पञ्चमी भनिएको हो। आज वाग्देवी सरस्वतीको पूजा–आराधना गरी उल्लासपूर्वक मनाइन्छ।

शास्त्रीय मान्यताअनुसार सेतो वस्त्र धारण गरेकी, शान्त मुस्कानयुक्त, वीणा, पुस्तक र माला धारण गरेकी देवी सरस्वती ज्ञान, विवेक र चेतनाको प्रतीक हुन्। हातमा रहेको वीणाले जीवनलाई लयबद्ध, संयमित र मधुर बनाउनुपर्ने सन्देश दिन्छ भने पुस्तकले विद्याको महत्त्व झल्काउँछ। माला निष्ठा, साधना र सात्विकताको प्रतीक हो। सरस्वतीसँगै देखाइने मयुर सौन्दर्य र मधुर स्वरको संकेत मानिन्छ, जसले विद्या नै मानवको सच्चा सौन्दर्य हो भन्ने भाव प्रकट गर्छ।

पूर्वीय संस्कारअनुसार श्रीपञ्चमीलाई शुभारम्भको दिन मानिन्छ। यस दिन कुनै पनि शुभ कार्य सुरु गर्न अतिरिक्त साइत हेर्नु नपर्ने विश्वास छ। त्यसैले साना बालबालिकालाई अक्षर लेख्न सिकाउने ‘अक्षराम्भ’ संस्कार गराइन्छ। जीवनलाई सफल, संयमित र सुसंस्कृत बनाउने विद्या, ज्ञान र शिक्षाको महत्त्वलाई स्मरण गराउने दिन नै सरस्वती पूजा हो।

यस दिन बिहान कलश स्थापना गरी गणेश, सूर्य, अग्नि, विष्णु, शिव लगायत देवताहरूको पूजा गर्दै सरस्वतीको आराधना गरिन्छ। दूध, दही, लावा, तिलको लड्डु, नरिवल, फलफूल, सेतो फूल र चन्दन अर्पण गर्ने परम्परा छ। बौद्ध धर्ममा पनि सरस्वतीलाई बोधिसत्व मञ्जुश्रीका रूपमा ज्ञानको प्रतीक मानी पूजाआजा गर्ने परम्परा रहिआएको छ।

प्रकाशित मिति: २०२६-०१-२३ , समय : ०७:३७:०३ , २ हप्ता अगाडि

error: Content is protected !!