सुनसरी । नेपाली कांग्रेस परित्याग गरी नेकपा एमालेमा प्रवेश गरेको एक घण्टामै सुनसरी प्रतिनिधिसभा निर्वाचन क्षेत्र नम्बर ४ का उम्मेदवारका रूपमा टिकट पाएका अबुल हुसेन अन्सारीको टिकट २४ घण्टा नबित्दै खोसिएको छ।
अन्सारी हिजो मात्रै तामझामका साथ काठमाडौँबाट विराटनगर हुँदै आफ्नै निर्वाचन क्षेत्रमा पुगेका थिए। तर, उनको उम्मेदवारीप्रति असन्तुष्टि जनाउँदै सुनसरीका एमाले नेता–कार्यकर्ताहरूले पार्टी अध्यक्ष केपी शर्मा ओलीको झापा स्थित निवासमा रातभर धर्ना दिएका थिए। धर्नापछि पार्टी नेतृत्वले अन्सारीको टिकट रद्द गर्ने निर्णय गरेको हो।
अब उक्त क्षेत्रबाट पुनः एमालेका नेता जगदीश कुसियैत उम्मेदवार बन्ने भएका छन्। यसअघि कुसियैतलाई सुनसरी–२ बाट उम्मेदवार बनाइने र अन्सारीलाई सुनसरी–४ बाट टिकट दिने निर्णय गरिएको थियो। सो निर्णयका कारण सुनसरी–२ बाट टिकट पाएका रेवतीरमण भण्डारीको टिकट खोसिएको थियो।
तर पछिल्लो निर्णयसँगै अब पुनः सुनसरी–२ बाट रेवतीरमण भण्डारीले नै टिकट पाएका छन् भने सुनसरी–४ बाट जगदीश कुसियैत उम्मेदवार बन्ने निश्चित भएको छ।
प्रकाशित मिति: २०२६-०१-२० , समय : ११:२२:०८ , ३ हप्ता अगाडि