बि.स. : २०८२ माघ २६, सोमबार

सुनसरीमा ट्रक पल्टिँदा पाँच मजदुरको मृत्यु, तीन घाइते

Aarya News Desk 7999  पटक हेरिएको

इनरुवा । सुनसरीमा भएको ट्रक दुर्घटनामा पाँच जना मजदुरको ज्यान गएको छ भने तीन जना घाइते भएका छन्। विराटनगरबाट टायल र मार्बल बोकेर सप्तरीको राजविराजतर्फ जाँदै गरेको को१ख ४५४१ नम्बरको ट्रक हुलाकी राजमार्ग अन्तर्गत सुनसरीको भोक्राहा–नर्सिङ गाउँपालिका वडा नं. ८, सोनियाहीमा अनियन्त्रित भई पल्टिँदा दुर्घटना भएको हो।

जिल्ला प्रहरी कार्यालय सुनसरीका प्रवक्ता चन्द्र खड्काका अनुसार दुर्घटना आज बिहान करिब साढे ५ बजे भएको हो। सडकको घुम्तीमा ट्रक पल्टिँदा पछाडि सामानमाथि बसेका पाँच जना मजदुर टायल र मार्बलले थिचिएका थिए। उनीहरूको घटनास्थलमै मृत्यु भएको प्रहरीले जनाएको छ।

दुर्घटनामा मृत्यु हुने सबै सुनसरीको बर्जु गाउँपालिका वडा नं. १ का बासिन्दा रहेको प्रहरीले पुष्टि गरेको छ। मृत्यु हुनेमा ३२ वर्षीय धीरेन्द्र गुरुङ, ५५ वर्षीय बर्मदेव गुरुङ, ५० वर्षीय टंक गुरुङ, २८ वर्षीय निसु गुरुङ र ५५ वर्षीय चन्द्र गुरुङ रहेका छन्।

ट्रकमा चालकसहित कुल नौ जना सवार थिए। चालकको क्याबिनमा चार जना र पछाडि सामानमाथि पाँच जना बसेका थिए। क्याबिनमा सवार चार जनामध्ये तीन जना सामान्य घाइते भएका छन्। उनीहरूको विराटनगरस्थित विराट नर्सिङ होममा उपचार भइरहेको छ। दुर्घटनापछि चालक भने फरार रहेका छन्।

प्रहरीले फरार चालकको खोजी गर्दै दुर्घटनाको थप अनुसन्धान गरिरहेको जनाएको छ।

प्रकाशित मिति: २०२६-०१-१५ , समय : ११:२२:०७ , ४ हप्ता अगाडि

error: Content is protected !!