नेपालमा प्रत्येक वर्ष माघ महिनाको १ गतेलाई ‘माघे सक्रान्ती’ वा ‘मकर सक्रान्ती’को रूपमा मनाइन्छ। परापूर्वकालदेखि मनाइँदै आएको यो पर्व पुस्तान्तरण हुँदै आजको नयाँ पुस्तासम्म आइपुगेको छ। तर, मकर सक्रान्ती किन मनाइन्छ भन्ने विषयमा धेरैलाई स्पष्ट जानकारी नहुन सक्छ।
मकर सक्रान्ती हिन्दु धर्मका महत्वपूर्ण पर्वहरूमध्ये एक हो, जसलाई नेपालका विभिन्न समुदायले आ–आफ्नो सांस्कृतिक परम्परा अनुसार श्रद्धा र उत्साहका साथ मनाउने गर्दछन्। यो पर्व सूर्य धनु राशिबाट मकर राशिमा प्रवेश गर्ने संक्रमणकालीन अवस्थासँग सम्बन्धित छ। मकर सक्रान्तीलाई आत्मप्रकाश, सकारात्मक ऊर्जा र कृतज्ञता प्रकट गर्ने पर्वका रूपमा लिइन्छ। यस पर्वको ज्योतिषीय तथा पौराणिक महत्व अत्यन्तै गहिरो छ।
मकर सक्रान्तीको महत्व
मकर सक्रान्तीको अर्थ यसको नाममै निहित छ। ‘मकर’ भन्नाले मकर राशि र ‘सक्रान्ती’ भन्नाले संक्रमण अर्थात् एक राशिबाट अर्को राशिमा प्रवेश गर्नु भन्ने बुझिन्छ। १२ महिना १२ राशीसँग सम्बन्धित हुन्छन् र सूर्यको प्रत्येक संक्रमणमध्ये मकर राशिमा प्रवेश गर्ने यो दिनलाई विशेष महत्वका साथ लिइन्छ।
यस दिन सूर्य धनु राशिबाट मकर राशिमा प्रवेश गर्छ। यही दिनबाट उत्तरायणको प्रारम्भ हुन्छ, जसलाई शुभ समय मानिन्छ। मकर सक्रान्तीपछि दिन लामो हुँदै जाने र चिसो घट्दै बिस्तारै गर्मी बढ्ने जनविश्वास छ। त्यसैले यस दिनलाई पवित्र तथा शुभ मानिन्छ।
पौराणिक महत्व
१. पुराणअनुसार यस दिन भगवान सूर्य आफ्ना पुत्र शनि देवको घर (मकर राशि)मा प्रवेश गर्ने गर्दछन्।
२. पिता–पुत्रबीच मतभेद भए तापनि सूर्यदेव शनि देवको घरमा एक महिनासम्म वास गर्ने विश्वास छ, जसले सम्बन्धमा सहिष्णुता र मेलमिलापको सन्देश दिन्छ।
३. मकर सक्रान्तीको दिनदेखि देवताहरूको दिन प्रारम्भ हुन्छ भन्ने मान्यता छ। यसलाई मलमासको समाप्तिको प्रतीकका रूपमा पनि लिइन्छ।
४. धार्मिक विश्वासअनुसार मकर सक्रान्तीका दिन भगवान विष्णुले नकारात्मक शक्तिहरूको नाश गर्नुभएको थियो। नकारात्मक शक्तिहरूको अन्त्य र नयाँ, नैतिक जीवनको सुरुवातको प्रतीकका रूपमा यो दिनलाई लिइन्छ।
५. महाभारतका भीष्म पितामहले इच्छा मृत्युको वरदान प्राप्त गरेका थिए। उनले उत्तरायण सुरु हुने मकर सक्रान्तीको दिन नै देह त्याग्ने निर्णय गरेका थिए। वाणहरूको शैयामा शय्या गर्दै उनी यही दिनसम्म प्रतीक्षारत रहे र यसै दिन उनका प्राण शरीरबाट मुक्त भएका थिए। उत्तरायणकालमा मृत्यु हुने व्यक्तिले मोक्ष प्राप्त गर्छ भन्ने धार्मिक मान्यता पनि यसैसँग जोडिएको छ।
यसरी, मकर सक्रान्ती केवल ऋतु परिवर्तनको संकेत मात्र नभई आध्यात्मिक चेतना, सकारात्मक ऊर्जा र धार्मिक विश्वाससँग गहिरो रूपमा जोडिएको महत्वपूर्ण पर्व हो।
प्रकाशित मिति: २०२६-०१-१५ , समय : ०८:१६:२६ , ४ हप्ता अगाडि