बलरा, सर्लाही । सर्लाहीसहित तराई–मधेस क्षेत्रमा केही दिनदेखि जारी शीतलहरबाट प्रभावित गरिब तथा विपन्न नागरिकलाई चिसोबाट जोगाउन बलरा नगरपालिकाले न्यानो ब्लांकेट वितरण अभियान सुरु गरेको छ।
जिल्लाको पश्चिमी तथा दक्षिणी सिमावर्ती क्षेत्रमा अवस्थित बलरा नगरपालिकाले हालसम्म नगरका ७ वटा वडामा बसोबास गर्ने २ हजारभन्दा बढी गरिब, विपन्न, दलित तथा सिमान्तकृत परिवारलाई ब्लांकेट वितरण गरिसकेको छ। बाँकी रहेका वडाहरूमा पनि छिट्टै वितरण गरिने बलरा नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत सुशीलकुमार साहले जानकारी दिए। बलरा नगरपालिका–२ का स्थानीय वृद्ध खहेरु सहनीले चिसोका कारण पूरै परिवार प्रभावित भएको बताउँदै स्थानीय सरकारबाट प्राप्त ब्लांकेटले केही राहत मिलेको उल्लेख गरे। उनले नगरपालिकाप्रति धन्यवादसमेत व्यक्त गरे। गरिब तथा विपन्न समुदायको बसोबास रहेको बलरामा पुस महिनाको सुरुदेखि निरन्तर जारी शीतलहरका कारण जनजीवन कष्टकर बन्दै गएको भन्दै नगरपालिकाले राहतस्वरूप ब्लांकेट वितरण अभियान सुरु गरेको नगरप्रमुख रामाशंकर कुशवाहाले जानकारी दिए।
विपद्को समयमा सर्वसाधारणको पीडा बुझ्दै स्थानीय सरकारको उपस्थिति र प्रत्याभूति दिलाउन यो अभियान अघि बढाइएको उनले बताए। मेयर कुशवाहाले स्थानीय सरकारले आफ्नो तर्फबाट सक्दो प्रयास गरिरहेको उल्लेख गर्दै विपद्को समयमा प्रदेश र संघीय सरकारले पनि सहयोगका लागि अगाडि आउनुपर्नेमा जोड दिए। साथै, शीतलहर लक्षित आगो ताप्न काठ वितरण अभियानलाई पनि प्राथमिकताका साथ सञ्चालन गरिने प्रतिबद्धता व्यक्त गरे।
बलरा नगरपालिका तथा गैरसरकारी संस्था राष्ट्रिय रोजगार प्रवर्द्धन केन्द्र, मलंगवा र सेभ द चिल्ड्रेनको संयुक्त सहयोगमा अति विपन्न, असहाय तथा दलित वर्गलाई न्यानो ब्लांकेट वितरण गरिएको हो। हालसम्म बलरा नगरपालिकाका वडा नम्बर १, २, ३, ४, ६, ९ र ११ मा वितरण सम्पन्न भइसकेको छ भने बाँकी ६ वटा वडामा क्रमशः वितरण गरिने नगरपालिकाले जनाएको छ।
सेभ द चिल्ड्रेनको सहयोगमा ६५० जना र बाँकी १,३५० जनालाई स्थानीय तहको आर्थिक सहयोगमा ब्लांकेट वितरण गरिएको नगरपालिकाले जानकारी दिएको छ।
ब्लांकेट वितरण कार्यमा सहयोग र सहकार्य गरेकोमा नगरप्रमुख कुशवाहाले राष्ट्रिय रोजगार प्रवर्द्धन केन्द्र र सेभ द चिल्ड्रेनप्रति आभार व्यक्त गरे।
केही दिनदेखि निरन्तर जारी शीतलहर र घाम नउदाएका कारण तराई–मधेस क्षेत्रमा जनजीवन थप कष्टकर बन्दै गएको छ।
प्रकाशित मिति: २०२६-०१-०४ , समय : ११:४७:१६ , १ महिना अगाडि