बि.स. : २०८२ माघ २६, सोमबार

विश्वमा ‘सुपर फ्लु’ को फैलावट, नेपाल कति सुरक्षित ?

AARYA NEWS DESK 8928  पटक हेरिएको

विश्वका विकसित मुलुकहरू—बेलायत, क्यानडा, फ्रान्स, स्पेन, जर्मनी, अमेरिका र जापान—मा तीव्र गतिमा फैलिरहेको तथाकथित ‘सुपर फ्लु’ भाइरसले युरोप तथा अमेरिकाका स्वास्थ्य प्रणालीलाई सतर्क बनाएको छ। यही सन्दर्भमा, यो भाइरस नेपालसम्म आइपुग्ला कि नपुग्ला भन्ने विषयले स्वास्थ्यकर्मी र सरोकारवालामाझ चासो र चिन्ता बढाएको छ।

नेपालमा हरेक वर्ष देखिँदै आएको मौसमी फ्लु अन्तर्गत स्वाइन फ्लु (H1 N1) र हङकङ फ्लु (H3 N2) सामान्य मानिँदै आएको छ। तर, पछिल्लो समय हङकङ फ्लु (H3 N2)को संक्रमण दर बढी देखिन थालेको छ। शुक्रराज ट्रपिकल तथा सरुवा रोग अस्पताल टेकुका क्लिनिकल रिसर्च युनिट संयोजक डा. शेरबहादुर पुनका अनुसार, हाल चर्चामा रहेको ‘सुपर फ्लु’ वास्तवमा H3 N2 भित्रको नयाँ सब–क्लेड हो, जसलाई विश्व स्वास्थ्य संगठन (WHO)ले ‘सब–क्लेड के’ नाम दिएको छ। ‘सुपर फ्लु’ भन्ने शब्द भने सञ्चारमाध्यमले प्रयोगमा ल्याएको हो।

वैज्ञानिक समुदायले यस भाइरसलाई मौसमी फ्लुकै रूपमा हेरे पनि यसको निगरानी प्रणाली सुदृढ गर्नुपर्नेमा जोड दिएका छन्। जोखिम समूहलाई खोपमा प्राथमिकता दिनु, स्वास्थ्य संस्था र जनशक्तिलाई तयारी अवस्थामा राख्नु तथा मास्क लगाउने, हात धुने र बिरामी हुँदा आइसोलेसनमा बस्नेजस्ता जनस्वास्थ्य सतर्कता अपनाउन उनीहरूको सुझाव छ।

WHO का अनुसार, दक्षिण अमेरिकाबाहेक विश्वका धेरै भागमा सब–क्लेड के भाइरसको पहिचान तीव्र रूपमा बढ्दै गएको छ। विशेषगरी सन् २०२५ को अगस्टपछि अस्ट्रेलिया र न्युजिल्यान्डमा यसको स्पष्ट उपस्थिति देखिएको छ। पछिल्ला छ महिनामा मात्रै ३४ भन्दा बढी देशमा यो भाइरस पुष्टि भइसकेको छ। यद्यपि, हालसम्मका तथ्यांकले रोगको गम्भीरतामा उल्लेखनीय वृद्धि देखाएको छैन, तर भाइरस निरन्तर विकासक्रममा रहेको डब्लूएचओको भनाइ छ।

नेपालमा जोखिम कति ?

अमेरिकाको न्युयोर्क, म्यानहटन, लुसियाना र कोलोराडो राज्यमा सुपर फ्लुको संक्रमण बढी देखिएको छ। अन्तर्राष्ट्रिय यात्राको केन्द्र र घना जनसंख्या भएको न्युयोर्कमा जोखिम उच्च रहेको स्वास्थ्य अधिकारीहरूले बताएका छन्। न्यु जर्सी र आसपासका क्षेत्रमा पनि संक्रमित भेटिएका छन्।

डा. पुन भन्छन्, “वैज्ञानिक दृष्टिले यसलाई अहिले पनि मौसमी फ्लुकै रूपमा लिइएको छ। तर विश्वभर तीव्र रूपमा फैलिरहेको अवस्थामा नेपालमा आउँछ कि आउँदैन, आयो भने यसको प्रभाव कस्तो हुन्छ भन्ने कुरा अझै अवलोकनकै विषय हो।”

देखिएका लक्षण

सुपर फ्लु संक्रमितमा सामान्य फ्लुजस्तै लक्षण देखिए पनि केहीमा तीव्रता बढी देखिएको छ। उच्च ज्वरो, शरीर र मांसपेशी दुख्ने, अत्यधिक थकान, लगातार खोकी, घाँटी दुख्ने र कडा टाउको दुखाइ मुख्य लक्षण हुन्। प्रायः संक्रमण भएको दुई दिनभित्रै लक्षण देखिन थाल्ने गरेको पाइएको छ।

जोखिम समूह

६५ वर्षभन्दा माथिका ज्येष्ठ नागरिक, साना बालबालिका, गर्भवती महिला, दम, मधुमेह, मुटु रोगजस्ता दीर्घरोगी तथा कमजोर प्रतिरक्षा प्रणाली भएका व्यक्तिहरू बढी जोखिममा छन्।

सामान्य फ्लुभन्दा के फरक ?

लक्षण उस्तै भए पनि सुपर फ्लु छिटो फैलिने र संक्रमणपछि लामो समयसम्म थकान रहने समस्या देखिएको छ। कतिपय बिरामीमा निमोनियासमेत देखिएको छ। फ्लु भाइरसहरूमा निरन्तर म्युटेसन हुने भएकाले यस्ता साना आनुवंशिक परिवर्तनहरू जम्मा हुँदै जाँदा भाइरस अझ आक्रामक बन्न सक्ने वैज्ञानिक चेतावनी छ। यही कारणले म्युटेसन भएका फ्लु भाइरसलाई सम्भावित भविष्यको प्यानडेमिकको दृष्टिले पनि हेरिँदै आएको छ।

डा. पुनका अनुसार, “हाल उपलब्ध अनुसन्धानले अहिले प्रयोगमा रहेका खोपले धेरै हदसम्म सुरक्षा दिने देखाएको छ। नेपालमा कहिले भित्रिन्छ भन्ने यकिन नभए पनि विश्वका अनुभवबाट पाठ सिकेर पूर्वतयारी गर्नु नै बुद्धिमानी हुन्छ।

प्रकाशित मिति: २०२६-०१-०२ , समय : १९:३६:२१ , १ महिना अगाडि

error: Content is protected !!