बि.स. : २०८२ माघ २६, सोमबार

‘जाम दारु खान’ हाम्रो सामाजिक मनोविज्ञानको ऐना

दशरथ मेहता 25073  पटक हेरिएको

हाम्रो समाजमा जीवनका हरेक मोडमा प्रतिक्रिया दिने आ आफ्नै पात्रहरू हुन्छन् । आमा, बाबा र साथी । परीक्षा पास होस् वा फेल, जन्मदिन होस् वा प्रेम विछोड, आमाको चिन्ता आशीर्वादमा बदलिन्छ, बाबाको आशा अनुशासनमा झल्किन्छ । तर यी सबै परिस्थितिभन्दा बाहिर उभिएको एउटा स्थायी प्रतिक्रिया छ साथीको, “जाम दारु खान ।”

यो वाक्य केवल रमाइलो संवाद मात्र होइन, यो हाम्रो सामाजिक व्यवहार, युवा मनोविज्ञान र समस्यासँग जुध्ने शैलीको प्रतिबिम्ब हो । खुशी होस् वा दुःख, सफलतामा उत्सव होस् वा असफलतामा निराशा सबैको साझा समाधानजस्तो गरी मदिरालाई प्रस्तुत गर्नु आफैंमा गम्भीर प्रश्न हो ।

आजको पुस्ता भावनात्मक तनाव, असफलताको डर, पारिवारिक दबाब र सामाजिक अपेक्षाबीच हुर्किरहेको छ । यस्तो अवस्थामा संवाद, परामर्श र सकारात्मक साथ चाहिने बेलामा हामी सजिलो बाटो रोज्छौं अस्थायी भुल । साथीले दिएको ‘दारु खान’को सल्लाह कतिपयका लागि पीडा बिर्सने माध्यम त बन्छ, तर दीर्घकालमा यसले समस्या समाधान होइन, समस्या थप्ने काम गर्छ ।

यस सम्पूर्ण कथामा आमाबाबुको भूमिका पनि आत्मसमिक्षाको विषय बन्नुपर्छ । भगवानको नाममा सफलता टाँस्नु र असफलतामा मोबाइल वा माया दोषी ठहर गर्नुले सन्तानको आत्मविश्वास बढाउँदैन । बाबुको ‘मर्द बन्’ भन्ने सल्लाहले भावना दबाउन सिकाउँछ, समाधान खोज्न होइन ।

साथीहरू खराब छन् भन्न खोजिएको होइन । बरु साथीहरूको भूमिका अत्यन्त महत्वपूर्ण छ । तर जब मित्रता केवल मदिरा, हाँसो र क्षणिक राहतमा सीमित हुन्छ, तब त्यो सम्बन्धले जीवन निर्माणभन्दा पलायनलाई बढावा दिन्छ । साँचो मित्रता भनेको समस्या हुँदा सुन्ने, सहि बाटो देखाउने र आत्मबल बढाउने सम्बन्ध हो ।

समाज बदलिँदैछ भनिन्छ, तर व्यवहार बदलिन सकेको छैन । दुःखमा संवाद, तनावमा परामर्श र सफलतामा आत्ममूल्याङ्कनको संस्कार विकास नगरेसम्म ‘जाम दारु खान’ हाम्रो पुस्ताको साझा उत्तर बनेर रहिरहनेछ ।

अब समय आएको छ खुशी मनाउन पनि सचेत बनौँ, दुःख भोग्दा पनि जिम्मेवार बनौँ । मित्रताको अर्थ केवल गिलास ठोक्नु होइन, जीवनको सही दिशामा साथ दिनु हो ।

प्रकाशित मिति: २०२५-१२-१९ , समय : २१:३३:०१ , २ महिना अगाडि

error: Content is protected !!