बि.स. : २०८२ माघ २६, सोमबार

पर्यटन, कृषि र उद्योग एकै मञ्चमा : विराट ट्रेड एक्स्पो–२०२५

राजीव कुशवाहा 10296  पटक हेरिएको

विराटनगर। २००७ सालमा स्थापना भएको र मुलुकका आर्थिक तथा सामाजिक गतिविधिमा जानकार मानिने मोरङ उद्योग वाणिज्य सङ्घ आर्थिक सम्बद्ध कार्यक्रममार्फत प्रदेश र स्थानीय अर्थतन्त्रलाई चलायमान बनाउन निरन्तर सक्रिय रहँदै आएको छ।

यही क्रममा सङ्घले आगत पुष ९ गतेदेखि १९ गतेसम्म ‘विराट ट्रेड एक्स्पो–२०२५’ आयोजना गर्ने भएको छ। मोरङ उद्योग वाणिज्य सङ्घका अध्यक्ष अनुपम राठीका अनुसार एक्स्पोले नेपालको समग्र आर्थिक क्षेत्रलाई प्रवर्द्धन गर्ने उद्देश्य राखेको छ।

सङ्घले यसअघि कोशी महोत्सव–२०५३, पूर्वाञ्चल औद्योगिक मेला–2057, विराट महोत्सव–२०६२, विराट महोत्सव–२०७०, विराट ट्रेड एक्स्पो–२०७५, २०७८ तथा मोरङ व्यापार सङ्घ एक्स्पो–२०८० सफलतापूर्वक सम्पन्न गर्दै आएको छ। यी कार्यक्रमहरूले प्रदेशको औद्योगिक, व्यापारिक तथा सामाजिक क्षेत्रमा महत्वपूर्ण प्रभाव पारेको अध्यक्ष राठीले बताउनुभयो।

आगामी विराट ट्रेड एक्स्पो–२०२५मा करिब २३० वटा स्टल रहनेछन्। स्टलमार्फत नेपालका घरेलु साना, मझौला तथा ठूला उद्योगका उत्पादनको प्रदर्शन गरिनुका साथै कोशी प्रदेशको कला, संस्कृति, पर्यटन, स्वास्थ्य, शिक्षा, कृषि तथा औद्योगिक उत्पादनलाई समेत विशेष प्रस्तुतिमा राखिनेछ।

राठीका अनुसार एक्स्पोले स्वदेशी उत्पादनलाई उपभोक्तासम्म पुर्‍याई स्थानीय उत्पादनको बजार विस्तार, उपभोक्ताको रुचि–चाहना बुझ्दै आन्तरिक व्यापार प्रवर्द्धन गर्ने लक्ष्य लिएको छ।
उनका अनुसार विराटनगरलाई व्यापारिक गन्तव्यका रूपमा अघि बढाउन एक्स्पो महत्वपूर्ण अवसर हुने बताइयो।

प्रकाशित मिति: २०२५-१२-११ , समय : १७:१८:३१ , २ महिना अगाडि

error: Content is protected !!