बि.स. : २०८२ माघ २६, सोमबार

गुल्मपति खतिवडाको कडाइले बजारमा कोलाहल, कारोबारी ‘सरुवा’ प्रतीक्षामा

आर्य न्युज सम्वाददाता 5407  पटक हेरिएको

विराटनगर। सशस्त्र प्रहरी बल नेपाल प्रस्तावित सीमा सुरक्षा गुल्म रानीले कडाइका साथ निगरानी बढाएपछि भन्सार छल्लीमा संलग्न समूह तथा केही स्थानीय कारोबारीहरू आफ्नो कारोबारको शैली परिवर्तन गर्न बाध्य भएका छन्।

गुल्म रानीबाट खटिएको टोलीले असार १६ गतेसम्म विराटनगर भन्सार कार्यालय रानी–आइसिपीमा चोरी–पैठारीसम्बन्धी १७ वटा मुद्दा दर्ता गराएको छ। यी सबै मुद्दाअन्तर्गत बरामद गरिएका सामान र सवारी साधन भन्सारमा दाखिला गरिएको छ। भन्सार निकट स्रोतका अनुसार दर्ता भएका मुद्दामा समावेश सामानहरूको मूल्य करिब १९ लाख ८२ हजार ४९१ रुपैयाँ पुगेको छ।

दोस्रो साताको अन्त्यतिर मात्रै गुल्मले एकैदिन ६ लाखभन्दा बढी मूल्यका सामान बरामद गरी भन्सार कार्यालयमा बुझाएको थियो। बरामद वस्तुहरूमा ३ लाख ४० हजार बराबरका चस्मा, १ लाख ४ हजारका कपडा, ४६ हजार बराबरका किराना सामग्री, ४२ हजारका मोटर पार्ट्स, ४० हजार मूल्यका रजनीगन्धा तथा १ लाख बराबरको मोटरसाइकलसमेत व्यक्ति सहित समावेश छन्। यी सामानहरू मोटेर्वाचोक, विराटनगर–१७, हनुमान मन्दिर क्षेत्र र रानी बसपार्क इलाकाबाट बरामद गरिएका हुन्।

निरन्तर भइरहेको कारबाहीले “सुनारको हजार चोट, लुहारको एक चोट” भन्ने उखानलाई स्मरण गराएको छ। गुल्मपति स.प्र.ना.उ. विकास खतिवडाको कडाइका कारण केही कारोबारीहरूमा असहजता र आतङ्क देखिएको छ। उनीहरूबीच अब खतिवडा कहिले सरुवा हुन्छन् भन्ने कुना–काप्चामै चर्चा चल्न थालेको छ। साथै, नयाँ आउने स.प्र.ना.उ. को कार्यशैली पनि खतिवडाजस्तै कठोर हुने कि नरम—भनेर बजारमा चासोका साथ हेरिएको छ।

प्रकाशित मिति: २०२५-१२-०५ , समय : ०९:२९:३७ , २ महिना अगाडि

error: Content is protected !!