बि.स. : २०८२ माघ २६, सोमबार

धनकुटा–भोजपुरमा हजारौँ गाँजाका बोट फडानी

Aarya News Desk 4523  पटक हेरिएको

विराटनगर । धनकुटा र भोजपुर जिल्लाका विभिन्न स्थानमा अवैध रूपमा लगाइएका र प्राकृतिक रूपमा उम्रिएका गाँजाका बोटहरू प्रहरी टोलीले फडानी गरी नष्ट गरेको छ।

कोशी प्रदेश प्रहरी कार्यालय विराटनगरको सुरक्षा सुनिश्चितता अभियान अन्तर्गत अवैध खेती नियन्त्रण अभियान चलाइरहेको प्रहरीले धनकुटा र भोजपुरमा सयौँ रोपनी क्षेत्रका गाँजाका बोट नष्ट गरेको हो।

धनकुटाको इलाका प्रहरी कार्यालय छिन्ताङबाट कार्तिक २३ गते खटिएको प्रहरी टोलीले शहीदभूमि गाउँपालिका–५ स्थित करिब ५ रोपनी क्षेत्रफलमा रहेका करिब १० हजार वटा गाँजाका बोट फडानी गरी नष्ट गरेको जनाएको छ।

त्यसैगरी इलाका प्रहरी कार्यालय राजारानीबाट खटिएको टोलीले चौबिसे गाउँपालिका–५ डाँडाखर्कस्थित करिब ३ रोपनी क्षेत्रफलमा रहेका ४ सय वटा गाँजाका बोट फडानी गरी नष्ट गरेको हो।

भोजपुरमा भने इलाका प्रहरी कार्यालय घोडेटार, प्रहरी चौकी हसनपुर र अस्थायी प्रहरी चौकी दुम्मानाबाट खटिएका प्रहरी टोलीहरूले हतुवागढी र आम्चोक गाउँपालिकाका विभिन्न वडामा फैलिएको करिब १० रोपनी क्षेत्रफलमा रहेका १ हजार ५० वटा गाँजाका बोट फडानी गरी जलाई नष्ट गरेका छन्।

प्रहरीले अवैध लागूपदार्थ खेतीविरुद्धको अभियान निरन्तर जारी रहने जनाएको छ।

प्रकाशित मिति: २०२५-११-१० , समय : १७:२१:४१ , ३ महिना अगाडि

error: Content is protected !!