बि.स. : २०८२ माघ २६, सोमबार

नेपालमा ‘मोन्था’ चक्रवातको असर : पूर्व र मध्य क्षेत्रमा बढी जोखिम

AARYA NEWS DESK 6678  पटक हेरिएको

काठमाडौं । बंगालको खाडीमा विकसित ‘मोन्था’ नामक चक्रवातको प्रभाव बिहीबार बिहानदेखि नेपालमा देखिन थालेको छ। जल तथा मौसम विज्ञान विभाग र राष्ट्रिय विपद् न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणले यसबारेमा सतर्क रहन सबैलाई आग्रह गरेका छन्।

मंगलबारदेखि नै देशका विभिन्न स्थानमा वर्षा र हिमपात सुरु भइसकेको छ। काठमाडौंसहितका हिमाली क्षेत्रमा चिसो बढेसँगै जनजीवन प्रभावित बनेको छ। मौसमविद्हरूका अनुसार यो वर्षा अरब सागर र बंगालको खाडीमा बनेको न्यूनचापीय प्रणाली तथा पश्चिमी वायुको संयुक्त प्रभावका कारण आएको हो।

तर, बिहीबारदेखि देखिन थालेको नयाँ प्रभाव भने चक्रवात ‘मोन्था’का कारण हो। वरिष्ठ मौसमविद् वरुण पौडेलका अनुसार यो चक्रवातको असर बिहीबार बिहानदेखि शनिबार बिहानसम्म रहनेछ। “कतिपय ठाउँमा भारी वर्षा, कतै हल्का वर्षा र हिमपातसम्म हुन सक्छ,” उनले बताए। उनका अनुसार आकस्मिक बाढी, पहिरो र सडक–हवाई आवागमनमा अवरोध हुन सक्ने जोखिम बढेको छ।

त्रिभुवन विश्वविद्यालय जल तथा मौसम विज्ञान केन्द्रीय विभागका सहप्राध्यापक विनोद पोखरेलका अनुसार विशेषगरी पूर्वी र मध्य नेपालमा यसको प्रभाव बढी देखिने अनुमान गरिएको छ। काठमाडौं उपत्यका, ललितपुर, भक्तपुर, काभ्रे, सिन्धुपाल्चोक, सिन्धुली, दोलखा, मकवानपुर र चितवनसमेत प्रभावित क्षेत्रको सूचीमा छन्।

पूर्वका भोजपुर, संखुवासभा, धनकुटा, तेह्रथुम, ताप्लेजुङ, पाँचथर, सुनसरी, मोरङ, झापा र इलाम लगायतका जिल्ला, मधेस प्रदेशका बारा, पर्सा, सर्लाही, रौतहट, महोत्तरी, धनुषा र सप्तरीमा समेत सतर्कता अपनाउन भनिएको छ। पश्चिमका दाङ, कपिलवस्तु, रूपन्देही, नवलपुर, मुस्ताङ, मनाङ, गोरखा, लमजुङ, कास्की, पाल्पा, गुल्मी, अर्घाखाँची, स्याङ्जा, पर्वत र तनहुँमा पनि मौसम अस्थिर रहने सम्भावना रहेको विभागले जनाएको छ।

मौसमविद्हरूका अनुसार चक्रवात जमिनमा प्रवेश (ल्यान्डफल) भएपछि क्रमशः कमजोर हुँदै जान्छ। तर समुद्रबाट आएको जलवाष्पयुक्त हावाले केही दिनसम्म आँधीबेहरी, हावाहुरी र वर्षाको जोखिम कायम रहन्छ। मोन्था चक्रवातको ल्यान्डफल मंगलबार राति नै भइसकेको भए पनि यसको असर अझै कायम रहेको छ।

गत वर्ष मे महिनामा ‘रेमल’ चक्रवातले नेपालमा ठूलो प्रभाव पारेको थियो। त्यसअघि ‘मिडहिल’, ‘हमोन’, ‘सिटेगं’, ‘फानी’, ‘बुलबुल’, ‘यास’ र ‘जवाद’जस्ता चक्रवातले पनि नेपालमा वर्षा, बाढी र डुबानका समस्या ल्याएका थिए। तिनै शृंखलाको पछिल्लो चक्रवात हो—‘मोन्था’।

विशेषज्ञहरूले अहिलेको अवस्था थप बिग्रन नदिन स्थानीय निकाय र सर्वसाधारण दुवैलाई उच्च सतर्कता अपनाउन सुझाव दिएका छन्।

प्रकाशित मिति: २०२५-१०-३० , समय : ०८:२३:४५ , ३ महिना अगाडि

error: Content is protected !!