काठमाडौं। नेपाली कांग्रेसको महाधिवेशन माग गर्दै संकलित हस्ताक्षरसहितको प्रस्ताव आज दर्ता गरिने भएको छ। पार्टीका महामन्त्री गगनकुमार थापाका अनुसार महाधिवेशन प्रतिनिधिहरूद्वारा हस्ताक्षरित प्रस्ताव आज दिउँसो ३ बजे पार्टी केन्द्रीय कार्यालय, सानेपामा दर्ता गरिनेछ।
यसअघि मंगलबार महामन्त्री थापाले सीमित प्रतिनिधिहरूलाई बुधबार कार्यलयमा उपस्थित भई प्रस्ताव बुझाउन आग्रह गरेका थिए। कांग्रेस उपसभापति पूर्णबहादुर खड्कालाई उक्त प्रस्ताव बुझाउने तयारी गरिएको हो। नेताहरू कार्यालय पुगिसक्दा पनि प्रस्ताव पटक–पटक स्थगित हुँदै आएको थियो।
यसैबीच, जेनजी आन्दोलनपछि पार्टी सभापति तथा पूर्वप्रधानमन्त्री शेरबहादुर देउवाले पहिलो पटक पार्टी कार्यालयमा सम्बोधन गरेका छन्। सम्बोधनमा देउवाले संविधान सभाबाट जारी भएको नेपालको संविधान जोखिममा परेको दाबी गर्दै प्रतिनिधि सभा असंवैधानिक र अलोकतान्त्रिक ढंगले विघटन भएको आरोप लगाए।
देउवाले राष्ट्र, लोकतन्त्र र शासन प्रणाली गम्भीर संकटमा परेको बेला पार्टीभित्र एकता आवश्यक रहेको उल्लेख गर्दै कांग्रेसको विधानअनुसार १५औँ महाधिवेशन तोकिएकै समयमा सम्पन्न गर्न केन्द्रीय कार्यसमितिले आवश्यक निर्णय गर्ने बताएका छन्। साथै, देउवाले कार्यवाहक सभापतिको जिम्मेवारी उपसभापति खड्कालाई दिएका छन्।
कांग्रेसले आज कार्यसम्पादन समिति बैठक गरी महाधिवेशनसम्बन्धी एजेन्डा तय गर्ने तयारी गरेको छ। यद्यपि मंगलबार बोलाइएको बैठक तालिकामा सहमति नजुटेपछि स्थगित गरिएको थियो।
पार्टीभित्र अहिले मंसिरभित्रै नियमित महाधिवेशन गर्न सकिने वा नसकिने र विशेष महाधिवेशनमा जाने वा नजाने भन्ने विषयमा विवाद चर्किएको छ। महामन्त्री गगन थापा, विश्वप्रकाश शर्मा तथा नेता शेखर कोइराला मंसिरभित्रै नियमित महाधिवेशन हुनुपर्ने पक्षमा छन्। यदि त्यो सम्भव नभए विशेष महाधिवेशनको बाटो लिनुपर्ने उनीहरूको अडान छ।
संस्थापन पक्ष भने मंसिरसम्म तयारी नपुग्ने बताउँदै आवश्यक तयारीपश्चात मात्रै महाधिवेशन गर्नुपर्ने तर्क गर्दै आएको छ। तर, हालसम्म करिब ५४ प्रतिशत महाधिवेशन प्रतिनिधिहरूले विशेष महाधिवेशनका पक्षमा हस्ताक्षर गरिसकेको बताइएको छ।
केन्द्रीय समिति बैठक यही असोज ३० गते बस्ने तय भएको छ। यसअघि महामन्त्रीद्वय थापा र शर्मा सभापति देउवासँग भेट गरी सहमतिको प्रयास गरेको र विवादलाई ‘सुरक्षित अवतरण’ गराउन प्रयास भएको नेताहरूले बताएका छन्।
यसैबीच, नेता शेखर कोइरालाले सञ्चारकर्मीहरूसँग कुरा गर्दै भने, “नियमित महाधिवेशन मंसिरभित्रै हुनुपर्छ। योभन्दा तलमाथि हुनु हुँदैन। केन्द्रीय समितिले निर्णय गर्नुपर्छ।”
प्रकाशित मिति: २०२५-१०-१५ , समय : ०८:४१:०७ , ४ महिना अगाडि