आश्विन शुक्ल प्रतिपदाको आगमनसँगै हिन्दू धर्मावलम्बीहरूको महान् पर्व दसैँको विधिवत् सुरुवात हुन्छ। प्रतिपदा शुद्ध भएकाले आजकै दिन घटस्थापना गरी नौ दिनसम्म दुर्गा भवानीको आराधना गर्ने परम्परा रहँदै आएको छ। भक्तजनहरूले आफ्नो घरमा घट स्थापना गरेर अखण्ड दीप प्रज्वलन गर्छन् र उपवाससहित नवदुर्गाको पूजा आरम्भ गर्छन्।
यस दिनलाई धार्मिक मात्र नभई सांस्कृतिक र आध्यात्मिक दृष्टिले पनि अत्यन्त महत्वपूर्ण मानिन्छ। सूर्योदयपछिका दश घडीभित्र शुद्ध स्थानमा स्नान गरी, पूजा कोठा वा दशैँ घरलाई गाईको गोबर वा माटोले पोतेर पवित्र बनाइन्छ। त्यसपछि कलश (घडा) स्थापना गरिन्छ। कलशमा शुद्ध जल भरेर पञ्चपल्लव—बर, पिपल, आँप, डुम्री र समीका पात राखिन्छ।
घटस्थापना सम्पन्न भएपछि शंख, घण्टी, डमरु बजाउँदै सप्तशती चण्डीको पाठ र दुर्गा स्तोत्र गाइन्छ। यसरी सुरु हुने नवदुर्गा पूजा असत्यमाथि सत्यको विजय र अधर्ममाथि धर्मको विजयी सन्देश बोकेर मनाइन्छ।
नवरात्रभर देवीका नौ रूप—शैलपुत्री, ब्रह्मचारिणी, चन्द्रघण्टा, कुष्माण्डा, स्कन्दमाता, कात्यायनी, कालरात्रि, महागौरी र सिद्धिदात्रीको पूजा गरिन्छ। जमरा पनि यही दिन रोपिन्छ, जसलाई नवमीसम्म निरन्तर पूजा गरेर दशमीका दिन देवीको प्रसादका रूपमा शिरमा धारण गरिन्छ। यो जमरा आशीर्वाद र शुभताको प्रतीक मानिन्छ।
देशका प्रमुख शक्तिपीठहरू—भद्रकाली, महालक्ष्मी, दक्षिणकाली, गुह्येश्वरी, मैतीदेवी, खाँडादेवी, कालीमाई लगायत अन्य देवीस्थानहरूमा समेत भक्तजनहरूको भीड लाग्छ। जहाँ–जहाँ शक्ति स्वरूपा दुर्गाको आवाहन हुन्छ, त्यहाँ फूल, धूप, दियो, जल र अन्नसहित मन्त्रजप र स्तोत्र पाठ गरेर देवीको महिमा गाइन्छ।
महासिद्धिप्रदं धम्र्यं सर्वशत्रुनिबर्हणम् ।
सर्वलोकोपकारार्थं विशेषादतिवृष्टिषु ।।
क्रत्वर्थ ब्राह्मणाहीश क्षत्रियैर्भूमिपालने ।
गोधनार्थं विशा वत्स ! शूद्रैः पुत्रसुखार्थिभिः ।।
सौभाग्यार्थं स्त्रिया कार्यमाख्यैश्च धनकाङ्गिभिः ।
महाव्रतं महापुण्यं शङ्कराडद्यैरनुष्ठितम् ।।
नवरात्र व्रतको अर्थ
नवरात्रलाई साधारण व्रत मात्र नभई दुर्लभ र महासिद्धिदायी साधना मानिन्छ । यसले साधकलाई असामान्य शक्ति, आत्मबल र विजय प्रदान गर्ने विश्वास रहिआएको छ । शास्त्रीय मान्यताअनुसार समाजका हरेक वर्गले आफ्नो आकाङ्क्षाअनुसार यसलाई पालना गर्छन्—ब्राह्मणले यज्ञको सफलता, क्षत्रियले विजय र राज्यप्राप्ति, वैश्यले गोधन वृद्धि, शूद्रले पुत्रसुख, नारीहरूले अखण्ड सौभाग्य, सम्पन्न मानिसहरूले धनसमृद्धिको लागि नवदुर्गामा महिषासुरमर्दिनीको आराधना गर्छन् । यो व्रतले देवता–देवीहरूलाई समेत प्रभावित पारेको देखिन्छ, किनकि शंकर, ब्रह्मा, विष्णु, इन्द्रलगायत देवताले पनि यस महान् व्रतलाई पालना गरेको शास्त्रमा उल्लेख पाइन्छ ।
दुर्गा सप्तशतीको पाठ
नवरात्र सुरु गर्दा सर्वप्रथम स्वस्तिवाचन र शान्तिपाठ गरी संकल्प लिनुपर्छ । त्यसपछि गणेशपूजन गरेर मातृका, लोकपाल, नवग्रह वा वरुणको पूजन गर्नुपर्छ । उत्तर वा पूर्व दिशातिर फर्किएर गरिएको पूजालाई विशेष फलदायी मानिन्छ । मुख्य मूर्तिको षोडशोपचार पूजा गरी देवी महाकाली, महालक्ष्मी र महासरस्वतीको आराधना गर्ने परम्परा छ । साथै मार्कण्डेय पुराण अन्तर्गतको श्री दुर्गा सप्तशतीको पाठ निरन्तर नौ दिनसम्म गर्नु अति शुभ मानिन्छ ।
नवरात्रमा “ॐ ऐं ह्रीं क्लीं चामुण्डायै विच्चे” भन्ने शक्तिशाली बीज मन्त्रको जप विशेष महत्व राख्छ । यो मन्त्रलाई देवी साधनामा प्रयोग गरिन्छ र यसले आत्मबल, साहस, आन्तरिक शक्ति जागृत गर्ने विश्वास गरिन्छ । साथै यस मन्त्रको निरन्तर जपले भूतप्रेत, दुष्टशक्ति र नकारात्मक ऊर्जाको प्रभाव हट्छ भन्ने मान्यता छ । साधकहरूले यसलाई १०८, १००८ वा लाखौं पटक जप गरेर मन्त्र सिद्ध गर्ने चलन रहिआएको छ ।
विचार गर्नु पर्ने
यस क्रममा सम्भव भएसम्म अखण्ड दीप बाल्नुपर्दछ । यदि बत्ती घिउमा बाल्नुभएको छ भने त्यसलाई दुर्गाको मूर्तिको दायाँतर्फ राख्नुहोस् र यदि बत्ती तेलको बाल्नुभएको छ भने त्यसलाई मूर्तिको बायाँतर्फ राख्नुपर्दछ ।
देवीको आराधनामा प्रयोग गरिने मन्त्र:
सर्वमङ्गलमाङ्गल्ये शिवे सर्वार्थसाधिके ।
शरण्ये त्र्यम्बके गौरि नारायणि नमोऽस्तु ते ।।
पूजनका क्रममा यी मन्त्रहरू उच्चारण गर्नुस्:
ॐ अपवित्रः पवित्रो वा सर्वावस्थां गतोऽपिवा ।
यः स्मरेत् पुंडरीकाक्षं सः बाह्याभ्यंतरः शुचि ।।
ॐ पुनातु पुण्डरीकाक्षः पुनातु पुण्डरीकाक्ष पुनातु ।।
नमो दैव्यै महादेव्यै शिवायै सततं नमः ।
नमः प्रकृतयै भद्रायै नियताः प्रणताः स्मताम ।।
या देवी सर्व भूतेषु मातृरूपेण संस्थिता ।
नमस्तस्यै नमस्तस्यै नमस्तस्यै नमो नमः ।
प्रकाशित मिति: २०२५-०९-२२ , समय : ०७:१२:५२ , ५ महिना अगाडि