सर्लाही, भदौ । बलरा नगरपालिकाका मेयर रामाशंकर कुशवाहाले शनिबार नेकपा (माओवादी केन्द्र)का अध्यक्ष एवं पूर्व प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’सँग भेटघाट गरेका छन्।
मेयर कुशवाहाले प्रचण्डसँगको सौहार्दपूर्ण भेटलाई राजनीतिक चेतना र नयाँ ऊर्जा प्राप्त गर्ने अवसरको रूपमा व्याख्या गर्दै मुलुकको वर्तमान अवस्था, राजनीतिक परिवेश र भावी दिशाबारे भएको संवादलाई निकै प्रेरणादायी बताउनुभयो।
“कोमल हृदय, गहिरो विचार र दूरदर्शी सोचले उहाँलाई युगपुरुषको स्थानमा स्थापित गरेको छ,” मेयर कुशवाहाले भन्नुभयो। उहाँले प्रचण्डको देशप्रेम, मधेसप्रतिको आत्मीय भावना र समावेशीकरणप्रतिको दृढ विश्वास अनुकरणीय रहेको उल्लेख गर्दै माओवादी अध्यक्षको नेतृत्वमा कार्यकर्तामा उत्साह, जनतामा विश्वास र अन्तर्राष्ट्रिय क्षेत्रमा सन्तुलन कायम हुने विश्वास व्यक्त गर्नुभयो।
यसै अवसरमा बलराका चर्चित युवा नेता अनिल कुमार सिंह नेकपा (माओवादी केन्द्र)मा प्रवेश गर्नुभएको छ। पार्टी प्रवेशको अवसरमा मेयर कुशवाहाले सिंहलाई हार्दिक बधाई तथा शुभकामना दिँदै उहाँको सक्रियताले मधेस र मुलुकलाई नयाँ उचाइमा पु-याउने विश्वास व्यक्त गर्नुभयो।
मेयर कुशवाहाले यस दिनलाई ऐतिहासिक र अविस्मरणीय क्षणको रूपमा स्मरण गर्दै युवा विचार र जीवन्त प्रेरणाले नयाँ युगको सुरुवात हुने धारणा राख्नुभयो।
प्रकाशित मिति: २०२५-०८-३१ , समय : १३:१७:५६ , ५ महिना अगाडि