बि.स. : २०८३ आषाढ ०५, शुक्रबार

जिल्ला अस्पताल सुनसरीमा नयाँ स्वास्थ्य उपकरण थपिए

Aarya News Desk 9940  पटक हेरिएको

सुनसरी । जिल्ला अस्पताल सुनसरीमा अब शल्यक्रिया र दन्त उपचार थप सहज हुने भएको छ। संघीय सरकारबाट अत्यावश्यक उपकरण प्राप्त भएपछि अस्पतालको सेवा प्रणाली थप मजबुत हुने अपेक्षा गरिएको छ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले एक सेट एनेस्थेसिया मेसिन, एक सेट डेन्टल चेयर, र आवश्यक कम्प्रेसर अस्पताललाई हस्तान्तरण गरेको हो।
उक्त सामग्री प्राप्तिमा स्वास्थ्य मन्त्री प्रदीप पौडेल र अस्पताल व्यवस्थापन समितिका अध्यक्ष राजन मेहताको विशेष पहल रहेको अस्पताल स्रोतले जनाएको छ।

“जनताको आधारभूत स्वास्थ्य सेवामा सरकारको पहुँच बलियो बनाउँदैछ,” हस्तान्तरण कार्यक्रममा मन्त्री पौडेलले भने, “जिल्लास्तरीय अस्पतालहरूलाई आवश्यक स्रोत–साधन दिन मन्त्रालय सधैं तयार छ।”

अस्पताल व्यवस्थापन समितिका अध्यक्ष मेहताले भने, “हामीलाई थप जिम्मेवारी बोध भएको छ। नयाँ उपकरणबाट सेवा अझै स्तरीय बनाउन प्रेरणा मिलेको छ।”

अस्पताल प्रशासनले मन्त्रालयप्रति आभार व्यक्त गर्दै आगामी दिनमा पनि यस्तै सहयोगको अपेक्षा राखेको छ। उपकरण आएपछि जिल्लावासीलाई गुणस्तरीय स्वास्थ्य सेवा लिन अब सजिलो हुने विश्वास गरिएको छ।

प्रकाशित मिति: २०२५-०८-०७ , समय : १०:५६:१२ , ११ महिना अगाडि

error: Content is protected !!