विराटनगर। कोशी प्रदेशका तीन जिल्लामा एकाएक बढेको ट्रान्सफर्मर चोरीको घटनामा संलग्न आपराधिक गिरोहलाई प्रहरीले पक्राउ गरेको छ। लामो समयदेखि चोरी भइरहे पनि संलग्नलाई पत्ता लगाउन नसकेको प्रहरीलाई बल्ल सफलता मिलेको हो।
प्रदेश प्रहरी कार्यालय विराटनगरले मंगलबार पत्रकार सम्मेलन गर्दै झापा, मोरङ र सुनसरी जिल्लामा सक्रिय आपराधिक समूहका सदस्यहरूलाई सार्वजनिक गरेको हो। प्रहरीले चोरीमा संलग्न ७ जनासहित चोरीको सामान किन्ने ५ जनालाई समेत नियन्त्रणमा लिएको जनाएको छ। प्रारम्भिक अनुसन्धानबाट उक्त गिरोहले योजनाबद्ध र शृंखलाबद्ध रूपमा २२ वटा ट्रान्सफर्मर चोरी गरेको पाइएको छ।
पत्रकार सम्मेलनमा प्रदेश प्रहरी प्रमुख डीआईजी ईश्वर कार्कीले दिएको जानकारी अनुसार, गत माघ १५ यता सुनसरीमा १२, मोरङमा ८ र झापामा २ वटा ट्रान्सफर्मर चोरी भएका छन्।
चोरीमा संलग्नहरुमा मोरङको ग्रामथान गाउँपालिका–४ का ४२ वर्षीय अर्जुनकुमार माझी (चौधरी), ग्रामथान–५ का ३१ वर्षीय इरज धामी, सुनसरीको दुहबी नगरपालिका–३ का ३५ वर्षीय अनुज विश्वास (चौधरी), दुहबी–२ का ३९ वर्षीय प्रयागकुमार खाँ चौधरी, मोरङको बेलबारी नगरपालिका–४ का २६ वर्षीय अर्जुन चौधरी, बेलबारी–३ का २७ वर्षीय रञ्जित तामाङ र भारतका आलम मिया छन्, जो हाल दुहबी–४ स्थित ससुराली घरमा बस्दै आएका थिए।
यस्तै, चोरीको सामान किन्ने व्यक्तिहरुमा विराटनगर–३ का ५३ वर्षीय लक्ष्य प्रधान, विराटनगर–६ का ६२ वर्षीय कृष्णगोपाल ताम्राकार, दुहबी–३ का ३२ वर्षीय योगेश अग्रवाल, दुहबी–२ का ३१ वर्षीय कपिल भट्ट र इटहरी–४ का ३९ वर्षीय सीताराम राई रहेका छन्।
गिरोहले ट्रान्सफर्मर भित्रको तामाको तार, तेललगायत सामग्री बिक्री गर्दै आएको प्रहरीले पत्ता लगाएको छ। तामाको तार महँगोमा बिक्री हुने भएकाले गिरोहले मुख्यतः तामालाई लक्षित गरी चोरी गर्ने गरेको प्रहरीको भनाइ छ। पक्राउ परेकाबाट तामाका तारहरू बरामद गरिनुका साथै चोरीमा प्रयोग गरिएका उपकरणहरू — २२ थान डायल रेन्च, ३ सलाई रेन्च, ३ पिलास, ३ पेचकस, १ छिनो, १ साङली, १ कैची र ३ थान ह्याक्सो ब्लेडसमेत बरामद गरिएको छ।
यस्तै, चोरीमा प्रयोग गरिएका १ पिकअप गाडी र ५ वटा मोटरसाइकलसमेत प्रहरीले नियन्त्रणमा लिएको छ। बरामद सवारीसाधनमा को १ च ७७२९ नम्बरको पिकअप गाडी, प्रदेश १–०२–०५० प ७०९५, प्रदेश १–०२–०५६ प ५५८०, को २ प ९२९०, प्रदेश १–०२–०५० प ३०४९ र को २९ प ४५४४ नम्बरका मोटरसाइकलहरू छन्।
प्रहरीको भनाइअनुसार, गत साउन ९ गते मोरङको रंगेली नगरपालिका–९ इँटाभट्टा टोलमा ट्रान्सफर्मर चोरी गर्न गएका अर्जुनकुमार थारु पक्राउ परेपछि प्रहरीले गिरोहको सुराकी पाएको हो। त्यसपछि प्रदेश प्रहरी कार्यालय विराटनगर तथा जिल्ला प्रहरी कार्यालय सुनसरी, मोरङ र झापाको संयुक्त टोली खटिई अनुसन्धान अघि बढाइएको थियो।
डीआईजी कार्कीका अनुसार, यस गिरोहबाट चोरी गरिएका ट्रान्सफर्मरको मूल्य करिब २ करोड रुपैयाँ बराबरको रहेको अनुमान गरिएको छ। घटनामा संलग्नहरूमाथि थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ।
प्रकाशित मिति: २०२५-०८-०५ , समय : २०:४७:०७ , ६ महिना अगाडि