बि.स. : २०८२ माघ २६, सोमबार

विराटनगर विमानस्थलमा नमाज कक्ष निर्माण तयारीप्रति विश्व हिन्दू परिषद्को आपत्ति

आर्य न्युज सम्वाददाता 7856  पटक हेरिएको

विराटनगर। विराटनगर विमानस्थलमा मुस्लिम यात्रुहरूको सुविधाका लागि छुट्टै नमाज कक्ष निर्माणको तयारी भइरहेका समाचारप्रति विश्व हिन्दू परिषद् नेपालले कडा आपत्ति जनाएको छ। परिषद्ले आइतबार विज्ञप्ति जारी गर्दै यस्तो निर्णय धर्मनिरपेक्षताको नाममा एकपक्षीय तुष्टिकरण भएको आरोप लगाएको हो।

विज्ञप्तिमा परिषद्ले नेपाल हिन्दू बहुल राष्ट्र भएकाले राज्यले सबै धर्मप्रति समान व्यवहार गर्नुपर्नेमा जोड दिएको छ। तर हिन्दू धर्मावलम्बीहरूलाई पूजापाठ वा धार्मिक अभ्यासका लागि कुनै छुट्टै व्यवस्था नगरिएको अवस्थामा मुस्लिम समुदायका लागि नमाज कक्ष निर्माणको तयारी गर्नु गम्भीर भेदभाव भएको परिषद्को दाबी छ।

परिषद्ले यस्तो कदमले केवल धार्मिक पक्षपात मात्र होइन, देशको मूल सांस्कृतिक संरचना र पहिचानमाथि प्रहार गरेको टिप्पणी गरेको छ। विमानस्थलजस्तो संवेदनशील क्षेत्रमा एक समुदायका लागि मात्र धार्मिक कक्षको व्यवस्था गर्नुले सुरक्षामा पनि चुनौती थप्ने खतरा रहेको परिषद्को ठहर छ। परिषद्ले यसप्रकारका निर्णयमा संलग्न निकायहरू र व्यक्तिहरूमाथि छानबिन गर्न माग गर्दै उक्त प्रक्रियालाई तत्काल रोक्न सरकारलाई चेतावनी दिएको छ।

विज्ञप्तिमा नेपालमा इस्लामीकरणको अन्तर्राष्ट्रिय प्रयत्न भइरहेको भन्दै त्यसलाई राज्य स्तरबाटै समर्थन गरिन थालेको गम्भीर आशंका व्यक्त गरिएको छ। परिषद्ले “यस्ता षड्यन्त्रकारी योजनाहरूको प्रतिकारका लागि हिन्दू समाज तयार रहनुपर्ने” भन्दै आन्दोलनको चेतावनीसमेत दिएको छ। यदि मागहरू पुरा नभए राष्ट्रव्यापी प्रतिवाद हुने र त्यसबाट उत्पन्न हुने सम्पूर्ण जिम्मेवारी राज्यकै हुने स्पष्ट पारिएको छ।

प्रकाशित मिति: २०२५-०८-०३ , समय : २२:४४:१२ , ६ महिना अगाडि

error: Content is protected !!