देवानगञ्ज । मानवताको उत्कृष्ट सेवा मानेर बर्जु गाउँपालिका–२ का समाजसेवी जगतबहादुर भट्टराईले आफ्नै भान्जालाई किड्नी दान गरी नयाँ जीवन दिएका छन्। लामो समयदेखि मृगौलाको गम्भीर समस्याबाट पीडित २३ वर्षीय उमेश कटुवालाई जीवनदान दिने यो साहसिक कदमको कदर गर्दै आइतबार बर्जु वडा कार्यालयमा विशेष सम्मान कार्यक्रम आयोजना गरिएको थियो।
५८ वर्षीय भट्टराईले धरान उपमहानगरपालिका–६ निवासी आफ्नै भान्जालाई किड्नी दान गरेका हुन्। उमेश दीर्घकालीन मृगौला रोगबाट पीडित थिए र उनको स्वास्थ्य अवस्था गम्भीर हुँदै गइरहेको थियो। लामो समयसम्म डायलाइसिस उपचार गराइरहेका उमेशलाई किड्नी प्रत्यारोपण बाहेक अन्य विकल्प थिएन। यस अवस्थामा भट्टराईले स्वेच्छिक रूपमा अंगदान गर्ने निर्णय लिएर उनको जीवन बचाउन महत्वपूर्ण भूमिका खेलेका छन्।
कार्यक्रममा वडाध्यक्ष महेन्द्र प्रसाद कामतले भट्टराईको कार्यलाई मात्र पारिवारिक माया नभई समाजका लागि प्रेरणादायी उदाहरण भएको बताए। उनले भने, “किड्नी प्रत्यारोपणका कुरा त हामीले धेरै सुनेका थियौं, तर आफ्नै वडामा यस्तो साहसी र आत्मीय कार्य भएको देख्दा मन छोयो। हाम्रो समाजमा अंगदानप्रति अझै पनि धेरै हिचकिचाहट र डर छ। धेरैले परिवारभित्र पनि अंगदान गर्न चासो देखाउँदैनन्। तर भट्टराईले आफ्नै भान्जालाई किड्नी दान गरेर सबैका लागि सन्देश दिएका छन्।”
कार्यक्रममा वडा सदस्यहरू, स्थानीय राजनीतिक दलका प्रतिनिधिहरू, स्वास्थ्यकर्मी, सामाजिक अभियन्ता, युवाहरू र स्थानीय नागरिकहरूको उपस्थिती थियो। सहभागीहरूले यस घटनाले अंगदानबारे समाजमा सकारात्मक सोच र जनचेतना फैलाउने विश्वास व्यक्त गरे।
नेकपा एमाले वडा नं २ कमिटीले पनि भट्टराईलाई सम्मान गरेको थियो। कमिटीका प्रतिनिधिहरूले उनको कार्यलाई सामाजिक उत्तरदायित्व र मानवीय माया दुवैको अभिव्यक्ति भएको बताए।
“यो केवल पारिवारिक सम्बन्ध होइन, यसले समाजमा मानवता अझै जिउँदो छ भन्ने कुरा प्रमाणित गर्छ,” उनीहरूले भने।
सामाजिक अभियन्ता र स्वास्थ्यकर्मीहरूले अंगदानबारे अझै धेरै मिथक, भय र गलत धारणाहरू रहेको र त्यसका कारण अंगदान नहुनु गम्भीर समस्या भएको बताए। उनीहरूले राज्य र स्थानीय तहबाट अंगदानबारे व्यापक जनचेतना अभियानको आवश्यकता औंल्याए। एक स्वास्थ्यकर्मीले भने, “नेपालमा अंगदानबारे सचेतना नहुँदा धेरै बिरामीले जीवन गुमाइरहेका छन्। हामीले यस्तो उदाहरणलाई अभियानमा परिणत गरी जनमानसमा फैलाउनु आवश्यक छ।”
कार्यक्रमको अन्त्यमा वडाध्यक्ष कामतले भट्टराईलाई प्रशंसा पत्र, दोसल्ला र फूलमालासहित सम्मान गरे। सम्मान ग्रहण गर्दै भट्टराईले भावुक हुँदै भने, “मेरो भान्जा मेरो छोरा जस्तै हो। उसको जीवन बचाउनु मेरो लागि ठूलो धर्म हो। म सबैलाई अनुरोध गर्छु — यदि तपाईंका अंगहरूले कसैको जीवन बचाउन सक्छ भने, त्यसमा कुनै संकोच गर्नुहुँदैन।”
यो सम्मान कार्यक्रमले स्थानीय तहबाट अंगदानको महत्वलाई पुनः उजागर गर्दै समाजमा सकारात्मक सन्देश प्रवाह गरेको छ। यसले भविष्यमा अंगदानसम्बन्धी जनचेतना अभिवृद्धि र सामाजिक उत्तरदायित्वलाई अझ सशक्त बनाउने विश्वास लिएको छ।
प्रकाशित मिति: २०२५-०८-०३ , समय : २१:१२:५८ , ६ महिना अगाडि