विराटनगर। कोशी प्रदेशका विभिन्न जिल्लामा लागूऔषध ओसारपसारमा संलग्न रहेको आरोपमा चार जना महिला सहित नौ जनालाई प्रहरीले पक्राउ गरेको छ। मोरङ, सुनसरी र उदयपुरबाट उनीहरूलाई विभिन्न स्थानबाट नियन्त्रणमा लिइएको हो।
सुनसरीमा एकैदिन ६ जना पक्राउ
असार ३२ गते लागूऔषधको कारोबार भइरहेको विशेष सूचनाका आधारमा खटिएको प्रहरी टोलीले सुनसरी जिल्लाको धरान क्षेत्रबाट ६ जनालाई पक्राउ गरेको हो। अस्थायी प्रहरी चौकी रेल्वे, अहरहाट र बरगाछीबाट खटिएको टोलीले धरान–१० का २४ वर्षीय अंकित राई, धरान–६ का २१ वर्षीय भरत मगर, धरान–१३ का २३ वर्षीय सागर राई, धरान–५ की २१ वर्षीया ज्योती राई, २६ वर्षीया नुमा लिम्बु र धरान–५ कै २३ वर्षीया सुजना राईलाई नियन्त्रणमा लिएको हो।
उनीहरूको साथबाट ट्रामाडोल १,०६२ क्याप्सुल, डिकोलिक ८४२ ट्याब्लेट र डिभोमिन २२० चक्की बरामद गरिएको प्रहरीले जनाएको छ।
मोरङमा नाईट्राजामसहित दुई पक्राउ
त्यसैगरी, मोरङको रंगेली नगरपालिका–६ स्थित इलाका प्रहरी कार्यालय रंगेलीले चेकजाँचका क्रममा लागूऔषध नाईट्राजाम १५५ चक्कीसहित झापा दमक–९ का ३५ वर्षीय शिवकुमार सोरेन र कमल गाउँपालिका–१ का ३३ वर्षीय आकाश खड्कालाई पक्राउ गरेको हो।
उदयपुरमा पनि एक महिला पक्राउ
उदयपुरको रामपुरठोक्सिला इलाका प्रहरी कार्यालयले बेलका नगरपालिका–८ की २१ वर्षीया रेजिना राईलाई ट्रामाडोल ७६ क्याप्सुलसहित पक्राउ गरेको जनाएको छ।
पक्राउ परेकाहरूविरुद्ध लागूऔषध सम्बन्धी मुद्दा दर्ता गरी आवश्यक अनुसन्धान अगाडि बढाइएको प्रहरीले जानकारी दिएको छ।
प्रकाशित मिति: २०२५-०७-१७ , समय : १५:१०:४९ , ७ महिना अगाडि