बि.स. : २०८२ माघ २६, सोमबार

देवानगञ्ज गाउँपालिकामा ३० करोड बढी बेरुजु, १३ करोड बढी रकम समेत खातामा नदेखिने

आर्य न्युज सम्वाददाता 35527  पटक हेरिएको

देवानगञ्ज। देवानगञ्ज गाउँपालिकाको आर्थिक वर्ष २०८०/८१ को एकीकृत वार्षिक वित्तीय विवरणमा गम्भीर कमजोरी देखिएको छ। गाउँपालिकाले सार्वजनिक गरेको लेखापरीक्षण प्रतिवेदनले विना विवरण १३ करोड ९२ लाख ६८ हजार रुपैयाँ खर्च नदेखाइएको र बेरुजू रकम पनि झन् बढ्दै गएको उल्लेख छ।

प्रतिवेदनअनुसार गाउँपालिकाले समाजिक सुरक्षा तथा संरचनाका लागि १२ करोड ८ लाख ६१ हजार रुपैयाँ, पूर्वाधार निर्माणका लागि १५ लाख ६० हजार रुपैयाँ, विकास कार्यक्रम अन्तर्गत १ करोड ६४ लाख ३२ हजार रुपैयाँ र अन्य साना कार्यक्रमका लागि ४ लाख १५ हजार रुपैयाँ गरी जम्मा १३ करोड ९२ लाख ६८ हजार रुपैयाँ समावेश नगरी वित्तीय विवरण तयार पारेको देखिएको छ।

अर्को गम्भीर पक्ष के छ भने गाउँपालिकाले १ अर्ब २९ करोड २७ लाख १० हजार रुपैयाँ बराबरको लेखापरीक्षण गरेकोमा त्यसमा १२ करोड २९ लाख १६ हजार रुपैयाँ बराबरको बेरुजू देखिएको छ। योसँगै अघिल्लो वर्षको १८ करोड ६९ लाख १८ हजार रुपैयाँ बेरुजू थपिँदा हालसम्मको जम्मा बेरुजू रकम ३० करोड ९२ लाख ६५ हजार रुपैयाँ पुगेको छ।

महालेखा परीक्षकको कार्यालयले सार्वजनिक गरेको प्रतिवेदनमा बेरुजू व्यवस्थापनका लागि ६५ लाख ६९ हजार रुपैयाँ तिर्नुपर्ने, ९० लाख ४५ हजार रुपैयाँसम्म असुल गर्नुपर्ने, ७ करोड ९० लाख ५५ हजार रुपैयाँ कागजात पेश गरी नियमित गर्नुपर्ने र २ करोड ६५ लाख ९० हजार रुपैयाँसमेत पुनः नियमित गर्नुपर्ने जनाएको छ। बाँकी ७६ लाख ५७ हजार रुपैयाँ अझै अस्पष्ट अवस्थामा रहेको उल्लेख छ।

लेखापरीक्षकद्वारा प्रस्तुत राय अनुसार गाउँपालिकाले लेखा तयारी गर्दा नेपाल सरकारद्वारा स्वीकृत नगदमा आधारित लेखामान र आन्तरिक नियन्त्रण प्रणालीलाई प्रभावकारी रुपमा लागू नगरेको पाइएको छ। स्थायी पदपूर्ति नहुँदा विकास निर्माण तथा सेवा प्रवाहमा असर परेको, अनुदानको अनुगमन नगरेको र आन्तरिक नियन्त्रण प्रणाली कमजोर रहेको समेत प्रतिवेदनमा औंल्याइएको छ।

लेखापरीक्षक बालकृष्ण थापाले प्रतिवेदनमा प्रष्ट पारेका छन् — “गाउँपालिकाको वित्तीय व्यवस्थापन, लेखा तयारी र जवाफदेहितामा स्थानीय सरकार सञ्चालन ऐन, २०७४ र आर्थिक कार्यविधि तथा वित्तीय दायित्व ऐन, २०७६ का प्रावधानहरू पर्याप्त रूपमा पालना भएका छैनन्। अनियमितता र बेरुजू व्यवस्थापन गर्न प्रभावकारी प्रणाली लागू गर्नु अहिलेको प्राथमिक आवश्यकता हो।”

देवानगञ्ज गाउँपालिका, गाउँसभा र प्रमुख प्रशासकीय अधिकृतले यी कमजोरीहरूको अविलम्ब सम्बोधन गर्दै पारदर्शी वित्तीय अनुशासन कायम गर्ने प्रतिबद्धता जनाउन जरुरी देखिएको छ।

लेखा परीक्षण प्रतिवेदन हेर्न यहाँ देवानगञ्ज-गाँउपालिका-सुनसरी क्लिक गर्नु होस्। 

 

प्रकाशित मिति: २०२५-०७-१६ , समय : १३:५८:११ , ७ महिना अगाडि

error: Content is protected !!