बि.स. : २०८२ माघ २६, सोमबार

‘विदेश जानुपर्दैन, नेपालमै उपचार सम्भव छ’ : प्रधानमन्त्री ओलीको शिक्षण अस्पतालमा अनुभव

आर्य न्युज सम्वाददाता 10009  पटक हेरिएको

File Photo

काठमाडौं। प्रधानमन्त्री केपी शर्मा ओलीले स्वास्थ्य बीमा कार्यक्रममा देखिएका कमजोरी र दुरुपयोगका घटनालाई नियन्त्रण गर्दै औचित्यपूर्ण रूपमा सुधार गरिने स्पष्ट पारेका छन्। त्रिभुवन विश्वविद्यालयको ४३औँ वार्षिकोत्सवको अवसरमा सोमबार काठमाडौंमा आयोजित भव्य समारोहलाई सम्बोधन गर्दै उनले स्वास्थ्य बीमा योजनाले गरिब र असहाय नागरिकलाई राहत दिने उद्देश्य पूरा गर्न नसकेसम्म यसको पुनरावलोकन अपरिहार्य हुने बताए।

प्रधानमन्त्री ओलीले ‘निरोगी नेपाल अभियान’लाई अझ प्रभावकारी बनाउन शिक्षण अस्पताललाई महत्वपूर्ण भूमिका खेल्न आग्रह गरे। उनले भने, ‘त्रिभुवन विश्वविद्यालय शिक्षण अस्पतालले दक्ष स्वास्थ्यकर्मी उत्पादनदेखि बिरामीलाई उचित उपचार सेवा दिनेसम्ममा आफूलाई नमूना अस्पतालका रूपमा उभ्याउन जरुरी छ।’

प्रधानमन्त्री ओलीले आफ्नो व्यक्तिगत अनुभव सुनाउँदै शिक्षण अस्पतालप्रतिको विश्वास व्यक्त गरे। ‘मैले दोस्रो पटक मिर्गौला प्रत्यारोपण यही अस्पतालमा गराएँ। यस्ता जटिल उपचारहरू अब विदेश नगई आफ्नै देशमै हुनुपर्छ भन्ने मेरो चाहना हो,’ उनले भने।

सो अवसरमा प्रधानमन्त्री ओलीले अस्पतालको सेवामा समर्पित उत्कृष्ट कर्मचारीहरूलाई प्रमाणपत्र र पदकद्वारा सम्मान गरे। साथै अस्पताल विस्तार, उपकरण तथा भवन निर्माणमा सहयोग पुर्‍याउने विभिन्न संघसंस्थालाई समेत सम्मानित गरिएको थियो।

समारोहमा प्रधानमन्त्रीले त्रिभुवन विश्वविद्यालयले चिकित्सा शिक्षाका साथै अन्य शैक्षिक क्षेत्रमा समेत मुलुकभर राम्रो उदाहरण प्रस्तुत गर्नुपर्ने आवश्यकता औँल्याए। ‘यो विश्वविद्यालयबाट तयार भएका दक्ष जनशक्तिले मुलुकमै सेवा गर्ने वातावरण बन्नुपर्छ,’ उनले जोड दिए।

वार्षिकोत्सव कार्यक्रममा विश्वविद्यालयका पदाधिकारी, शिक्षण अस्पतालका वरिष्ठ चिकित्सक, प्राध्यापक, कर्मचारी र विद्यार्थीहरूको उल्लेख्य उपस्थिति रहेको थियो।

प्रकाशित मिति: २०२५-०७-१४ , समय : १९:०७:३९ , ७ महिना अगाडि

error: Content is protected !!