देवानगञ्ज। अविरल वर्षा नहुनुका साथै प्रभावकारी सिँचाइको सुविधा नहुँदा सुनसरीको देवानगञ्ज गाउँपालिकामा धान रोपाइँ निकै सुस्त भएको छ । हालसम्म पालिकाभर जम्मा १० प्रतिशत मात्रै खेतमा धान रोपाइँ भएको कृषि शाखाका प्राविधिक गुलाबचन्द मेहताले जानकारी दिनुभयो ।
“सामान्यतया असारको अन्तिमसम्ममा देवानगञ्जमा झन्डै ८० प्रतिशत धान रोपाइँ भइसक्थ्यो । तर वर्षा नभएपछि किसानहरूले खेत सुकाएर राख्नुपरेको छ,” मेहताले भन्नुभयो ।
यता धेरै किसानले मोटर पम्प र पम्पसेट जडान गरेर निजी खर्चमा भूमिगत पानी तानेर रोपाइँ गर्ने कोसिस गरिरहेका छन् । तर डीजल र बिजुलीको महँगीले सिँचाइ खर्च अत्यधिक बढेको उनीहरूको गुनासो छ ।
देवानगञ्ज कृषि प्रधान पालिका हो । यहाँका करिब ९० प्रतिशत जनता कृषिमा नै निर्भर छन् भने मुख्य बालीमा धान, मकै, आलु र विभिन्न तरकारी पर्छन् ।
स्थानीय किसानहरू भन्छन् — “निर्वाचनका बेला नेताहरूले ठूलाठूला भाषण गरेका थिए । दुईपटक धान फल्ने गरी सिँचाइको सुविधा दिने भनेका थिए, तर अहिले पनि पानीको अभावमा खेत बाँझै छ ।”
सिँचाइका लागि खोत (नहर) को स्तरोन्नति, ठूला सिँचाइ आयोजना वा वैकल्पिक संरचना बनाउन राज्यका निकायहरूलाई पटक–पटक ध्यानाकर्षण गराउँदा समेत सुनुवाइ नभएको किसानहरूको गुनासो छ ।
कृषिविद्हरूका अनुसार यो वर्ष समयमा रोपाइँ हुन नसक्दा धान उत्पादनमा उल्लेखनीय गिरावट आउने देखिएको छ । कृषि क्षेत्रका जानकारहरूले तत्काल आकस्मिक सिंचाइ व्यवस्थापन र दीर्घकालीन योजना कार्यान्वयनमा जोड दिन सुझाव दिएका छन् ।
प्रकाशित मिति: २०२५-०७-१० , समय : ०७:३२:४८ , ७ महिना अगाडि