
सुनसरी । सुनसरीको गढी गाउँपालिका–६ मझौस्थित लिटिल बड्ज एकेडेमी बोर्डिङ स्कुलको बसको ठक्करबाट एक बालकको मृत्यु भएको छ।
जिल्ला प्रहरी कार्यालय सुनसरीका अनुसार मंगलबार दिउँसो करिब ४:२० बजेतिर स्कुल बसबाट ओर्लने क्रममा स्थानीय श्रवण उरावका तीन वर्षीय छोरा आयुष उराव बसको पछाडिको चक्कामुनि परेका थिए। चक्काले किच्दा बालकको घटनास्थलमै मृत्यु भएको प्रहरीले जनाएको छ।
ग १ ख २०१२ नम्बरको उक्त स्कुल बसलाई प्रहरीले नियन्त्रणमा लिएको छ भने बस चालक गढी गाउँपालिका–३ निवासी विनोद कुमार मेहता फरार रहेका छन्। उनको खोजी कार्य जारी रहेको प्रहरीले जनाएको छ।
घटनापछि इलाका प्रहरी कार्यालय छिटाहाबाट प्रहरी वरिष्ठ नायव निरीक्षक प्रेम राउतको कमाण्डमा १० जना प्रहरी टोली घटनास्थल पुगेको थियो। थप अनुसन्धानका लागि प्रहरी निरीक्षक सागर तिमिल्सिनाको नेतृत्वमा इलाका प्रहरी कार्यालय दुहबीबाट थप प्रहरी टोली खटिएको छ।
घटनापछि एक सय भन्दा बढी स्थानीयवासी घटनास्थलमा भेला भएका थिए। हाल घटनास्थलको अवस्था सामान्य रहेको र थप अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालय सुनसरीले जनाएको छ।
मृतकको शवलाई पोष्टमार्टमका लागि प्रारम्भमा जिल्ला अस्पताल इनरुवा लगिएको भए पनि ब्रेन विशेषज्ञ नहुँदा वीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान, धरान पठाइएको प्रहरीले जनाएको छ।
प्रकाशित मिति: २०२५-०७-०२ , समय : ०८:४८:३१ , २ दिन अगाडि