बि.स. : २०८२ आषाढ १९, शुक्रबार
"प्रशासनदेखि प्रदेश सभा हल्लायो, केदार कार्कीले गरे यस्तो सनसनीपूर्ण खुलासा" LIVE

रोटरी फाउन्डेसनको सहयोगमा नवनिर्मित विद्यालय भवन हस्तान्तरण

कोशी प्रदेश सम्वाददाता / आर्य न्युज 4019  पटक हेरिएको

विराटनगर । रोटरी फाउन्डेसनको ग्लोबल ग्रान्ट कार्यक्रमअन्तर्गत निर्माण भएका विद्यालय भवनहरू विद्यालय व्यवस्थापन समितिलाई औपचारिक रूपमा हस्तान्तरण गरिएको छ।

विराटनगर महानगरपालिका–५ स्थित श्री सिद्धकाली आधारभूत विद्यालयका भवनहरू एक कार्यक्रमका बीच हस्तान्तरण गरिएको हो। कार्यक्रममा प्रमुख अतिथि विराटनगर महानगरपालिकाका मेयर नागेश कोइराला थिए।

रोट्रयाक्ट क्लब अफ विराटनगरको अग्रसरतामा निर्माण भएका भवनहरू पूर्ण रूपमा बालमैत्री रहेका छन्। करिब ५० लाख रुपैयाँ लागतमा ग्लोबल ग्रान्ट कार्यक्रममार्फत चारवटा पक्की भवन र दुईवटा शौचालय निर्माण गरिएको छ। ती चार भवनमा १२ वटा कोठा छन् भने छात्र र छात्राका लागि अलग-अलग अपाङ्गमैत्री शौचालयको व्यवस्था गरिएको छ।

विद्यालय परिसरमा खेल मैदान, पार्किङ स्थल तथा हरेक भवनमा सजिलै पुग्नका लागि टाइल बिछ्याइएको छ। प्रवेशद्वारदेखि खेलकुद मैदानसम्म समेत बालमैत्री पहुँच सुनिश्चित गरिएको छ।

भवन हस्तान्तरण कार्यक्रममा रोटरी इन्टरनेसनलका बासुदेव गोलियान, महानगरका प्रमुख प्रशासकीय अधिकृत रामप्रसाद ढुंगेल, रोटरीका पदाधिकारीहरू बिनोद अग्रवाल, टी.पी. आचार्य, कमल अग्रवाल, अमित सिंघल, नरेश राठी, समाजसेवी उद्धव थापा, रोट्रयाक्ट क्लब अफ विराटनगरका अध्यक्ष प्रेम पारख, पूर्व अध्यक्ष रोहित रोनियार, एरोश पौडेल, सजल सुवेदी लगायतको उपस्थिति रहेको थियो।

उक्त भवनहरू विद्यालय व्यवस्थापन समितिका अध्यक्ष रामकुमार यादव र प्रधानाध्यापक राजेन्द्र प्रसाद थापालाई हस्तान्तरण गरिएको हो। कार्यक्रममा मेयर कोइराला र गोलियानले नवनिर्मित भवनहरूको उद्घाटनसमेत गरे।

कार्यक्रमको अन्त्यमा अध्यक्ष प्रेम पारखले आउँदो वर्ष २०२५–२६ का लागि नयाँ अध्यक्ष आँशु निरौलालाई पद हस्तान्तरण गरे।

प्रकाशित मिति: २०२५-०६-३० , समय : ११:१७:३० , ४ दिन अगाडि

error: Content is protected !!