बि.स. : २०८२ माघ २६, सोमबार

लागूऔषध नियन्त्रणमा कडाइ : सुनसरीमा डग स्क्वाडसहितको विशेष प्रहरी टोली सीमा क्षेत्रमा सक्रिय

देवराज यादव 4998  पटक हेरिएको

भन्टाबारी। लागूऔषध ओसारपसार नियन्त्रण गर्न सुनसरी प्रहरीले नेपाल–भारत सीमामा ‘डग स्क्वाड’ सहितको विशेष प्रहरी टोली परिचालन गरेको छ।

कोशी गाउँपालिका–८ भन्टाबारी तीन कोनेस्थित नेपाल–भारत सीमामा सुनसरी जिल्ला प्रहरी कार्यालयले विशेष तालिम प्राप्त कुकुरसहितको टोली तैनाथ गरेको हो।

सीमा क्षेत्र हुँदै लगातार अवैध रूपमा लागूऔषध भित्रिन थालेपछि नियन्त्रणमा कडाइ गर्न यस्तो कदम चालिएको जिल्ला प्रहरी कार्यालय सुनसरीका प्रमुख प्रहरी उपरीक्षक सुमन कुमार तिम्सिनाले बताए।

‘ब्राउन सुगर, कोरेक्स, नाइट्रोजेपामजस्ता प्रतिबन्धित लागूऔषधहरू सीमापारि सजिलै कारोबार हुने र यहाँबाट ओसारपसार हुने क्रम बढेको पाइएको छ,’ प्रमुख तिम्सिनाले भने, ‘यही कारणले विषेश तालिम प्राप्त कुकुरसहितको ‘डग स्क्वाड’ परिचालन गरेका हौं।’

उनका अनुसार शनिबार दिउँसोदेखि औपचारिक रूपमा भन्टाबारी नाकाबाट यो अभियान सुरु गरिएको हो। अभियानअन्तर्गत प्रदेशका विभिन्न सीमावर्ती नाकामा पनि निगरानी तथा चेकजाँचलाई थप कडाइ गरिने उनले जानकारी दिए।

प्रहरी निरीक्षक पर्शुराम राईको कमान्डमा रहेको उक्त डग स्क्वाड टोलीमा १८ जना नेपाल प्रहरीका जवान पनि छन्। उनीहरूले लागूऔषध ओसारपसार हुने सम्भावित स्थानहरूमा निगरानी बढाउने र नियमित रूपमा जाँच गर्नेछन्।

 

इलाका प्रहरी कार्यालय भन्टाबारीका प्रहरी वरिष्ठ नायब निरीक्षक प्रसाद पुण्य अधिकारीका अनुसार शनिबार दिउँसोदेखि नाकामै भारततर्फ जाने र भारतबाट आउने यात्रुहरूको ‘डग स्क्वाड’ ले सुक्ष्म जाँच सुरु गरिसकेको छ।

प्रहरीले सीमा क्षेत्रमा यसरी सक्रिय निगरानीका साथै सूचनाका आधारमा गस्ती र चेकजाँचलाई निरन्तरता दिने जनाएको छ।

 

प्रकाशित मिति: २०२५-०६-२८ , समय : २०:४५:३० , ८ महिना अगाडि

error: Content is protected !!