बि.स. : २०८२ आषाढ १९, शुक्रबार
"प्रशासनदेखि प्रदेश सभा हल्लायो, केदार कार्कीले गरे यस्तो सनसनीपूर्ण खुलासा" LIVE

“कान्तिपुर स्कुलको टपर आयुषा : ४ जिपिए, २५ हजार नगद र पूर्ण छात्रवृत्ति”

आर्य न्युज / कोशी प्रदेश सम्वाददाता 3419  पटक हेरिएको

विराटनगर । गुणस्तरीय शिक्षाको परिचय दिँदै आएको विराटनगरको कान्तिपुर माध्यमिक विद्यालयले यस वर्षको एसईई परीक्षामा समेत आफ्नो शैक्षिक क्षमतालाई सशक्त रूपमा पुनः पुष्टि गरेको छ। विद्यालयका ६० जना विद्यार्थी सहभागी उक्त परीक्षामा सबैजना उत्तीर्ण भएका छन् भने एक छात्राले सर्वोच्च ४ जिपिए समेत हासिल गरेकी छन्।

विद्यालयकी मेधावी छात्रा आयुषा कार्कीले ४ जिपिए ल्याएर विद्यालयलाई मात्रै होइन, प्रदेशमै शैक्षिक उत्कृष्टताको प्रतीक बनाइदिएकी छन्। विद्यालय परिवारले उनको यस उपलब्धिलाई कदर गर्दै नगद २५ हजार रुपैयाँसहित प्रशंसा-पत्र प्रदान गरेको छ। सो पुरस्कार विद्यालयका प्रिन्सिपल भुवन नेपालले विशेष कार्यक्रमबीच हस्तान्तरण गरेका थिए।

विद्यालयले सार्वजनिक गरेको नतिजा विवरणअनुसार परीक्षामा सहभागीमध्ये ११ जनाले ३.६१ देखि ४ जिपिए, ४१ जनाले ३.२१ देखि ३.६० जिपिए र ७ जनाले २.९५ देखि ३.२० जिपिए ल्याउन सफल भएका छन्। यसबाट विद्यालयको शैक्षिक परिणाम निरन्तर उकृष्ट बन्दै गएको देखिन्छ।

सम्मान ग्रहण गर्दै आयुषाले आफ्नो सफलताको श्रेय विद्यालयका मेहनती शिक्षक, समयपालक पठनपाठन र सकारात्मक शैक्षिक वातावरणलाई दिइन्। उनले भनिन्, “कान्तिपुर स्कुलमा प्राप्त गुणस्तरीय पठनपाठनले नै मलाई यो सफलता दिलाएको हो।” साथै उनले आगामी दिनमा विज्ञान विषय लिएर कान्तिपुर कलेजमै कक्षा ११ अध्ययन गर्ने निर्णय सुनाउँदै अन्य विद्यार्थीहरूलाई पनि यहीँ अध्ययन गर्न सुझाइन्।

उनले भनिन्, “यहाँका अनुभवी शिक्षकहरूसँग पढ्ने अवसर नै ठूलो कुरा हो। यहीँ पढेर मैले राम्रो नतिजा ल्याएको छु र भविष्यमा पनि यहीँबाट अझ राम्रो गर्न चाहन्छु।”

सो अवसरमा विद्यालयका प्रिन्सिपल नेपालले आयुषासहित सबै विद्यार्थीलाई बधाई ज्ञापन गर्दै भने, “विद्यार्थीको समग्र विकास र उनीहरूलाई जीवनमा सफल बनाउन विद्यालय सधैँ प्रतिबद्ध छ। शिक्षकहरूको समर्पण, विद्यार्थीहरूको लगनशीलता र अभिभावकहरूको विश्वासकै कारण यस्ता उपलब्धि सम्भव भएका हुन्।”

प्रिन्सिपल नेपालले विद्यालयबाट टप गरेकाले आयुषालाई कक्षा ११ र १२ दुबै वर्षका लागि पूर्ण छात्रवृत्ति समेत प्रदान गरिने जानकारी दिए। उनले विज्ञान र व्यवस्थापन दुवै संकायमा अझ प्रभावकारी तयारी कक्षाहरू सञ्चालन गरिने र प्रतिस्पर्धात्मक वातावरणमा विद्यार्थीको क्षमता निखार्ने थप कार्यक्रमहरू सञ्चालन भइरहने बताए।

कान्तिपुर विद्यालयले नियमित पठनपाठनसँगै अतिरिक्त क्रियाकलाप, क्यारियर काउन्सेलिङ, प्रतियोगी परीक्षा तयारीदेखि व्यावसायिक सीप विकाससम्मका कार्यक्रम सञ्चालन गर्दै आएको छ। यही योजनाबद्ध अभ्यासका कारण विद्यालय विद्यार्थी तथा अभिभावकको विश्वास जित्दै आइरहेको छ।

यस पटकको एसईई नतिजाले कान्तिपुर स्कुलको शैक्षिक क्षमतामा नयाँ उचाइ थपेको छ। स्थानीय मात्रै होइन, प्रदेशभरका विद्यार्थी र अभिभावकले भरोसा गर्ने यो संस्थाले भविष्यमा अझ उत्कृष्ट शिक्षाका साथ अघि बढ्ने प्रतिबद्धता व्यक्त गरेको छ।

प्रकाशित मिति: २०२५-०६-२८ , समय : २०:२८:०० , ६ दिन अगाडि

error: Content is protected !!