
झापा। झापाको पूर्व–पश्चिम लोकमार्गमा लागूपदार्थ सेवन (ला.प.से.) गरी सवारीसाधन चलाउने सात जना चालक प्रहरीको फन्दामा परेका छन्। दुर्घटनाको जोखिम कम गर्न चलाइएको विशेष अभियानको क्रममा उनीहरूलाई नियन्त्रणमा लिइएको हो।
जिल्ला ट्राफिक प्रहरी कार्यालय झापा र इलाका प्रहरी कार्यालय सुरुङ्गाको टोलीले कनकाई नगर अस्पताल दमकको प्राविधिक सहयोगमा चेकजाँच गरेको थियो। असार ९ गते अपराह्न सञ्चालन गरिएको उक्त अभियानमा यात्रुबहाक तथा निजी सवारी साधनका चालकहरूलाई लक्षित गरी स्वास्थ्य परीक्षण र लागूपदार्थ सेवनको परीक्षण गरिएको थियो।
परीक्षणको क्रममा दुई जना यात्रुबाहक बसका चालक, दुई जना सहचालक, एक जना ईभी गाडीका चालक, एक जना टिपर चालक र एक जना मोटरसाइकल चालकले लागूपदार्थ सेवन गरेको पुष्टि भएको प्रहरीले जनाएको छ।
पक्राउ परेका सबै चालकलाई इलाका प्रहरी कार्यालय अनारमनीमा राखेर थप अनुसन्धान तथा कानूनी प्रक्रिया अघि बढाइएको छ। प्रहरीले सडक सुरक्षाको दृष्टिले यस्ता चेकजाँच कार्यक्रमलाई अझ प्रभावकारी बनाउँदै लैजाने जनाएको छ।
प्रकाशित मिति: २०२५-०६-२६ , समय : १०:५६:०८ , १ हप्ता अगाडि