बि.स. : २०८२ आषाढ १९, शुक्रबार
"प्रशासनदेखि प्रदेश सभा हल्लायो, केदार कार्कीले गरे यस्तो सनसनीपूर्ण खुलासा" LIVE

देवानगञ्जमा पूर्ण खोप सुनिश्चितता घोषणा तथा दिगोपना कार्यक्रम सम्पन्न

राजीव कुशवाहा 3936  पटक हेरिएको

देवानगञ्ज । ‘स्थानीय स्वामित्व र सहभागिता, हाम्रो प्रतिबद्धता’ भन्ने मूल नाराका साथ देवानगञ्ज गाउँपालिकामा पूर्ण खोप सुनिश्चितता गाउँपालिका घोषणा तथा दिगोपना कार्यक्रम भव्य रूपमा सम्पन्न भएको छ।

गाउँपालिका स्वास्थ्य शाखाको आयोजनामा सम्पन्न उक्त कार्यक्रमले देवानगञ्जलाई स्वास्थ्य सुरक्षाको क्षेत्रमा अग्रणी पालिकाको रूपमा प्रस्तुत गरेको छ।

कार्यक्रमको उद्घाटन गर्दै गाउँपालिकाका अध्यक्ष बेचनप्रसाद मेहताले देवानगञ्जलाई पूर्ण खोप सुनिश्चितता पालिकाको रूपमा औपचारिक घोषणा गरे। स्वास्थ्य सेवा क्षेत्रमा स्थानीय सरकारको सक्रियता, संस्थागत समन्वय र नागरिकको सहभागिताबाट मात्र यस्तो उपलब्धि सम्भव भएको अध्यक्ष मेहताले बताए।

अध्यक्ष मेहताले आगामी दिनमा खोपको दिगोपना सुनिश्चित गर्न नियमित अनुगमन, स्वास्थ्य पूर्वाधार सुदृढीकरण, जनचेतनामूलक कार्यक्रम तथा समुदाय–स्वास्थ्य साझेदारीलाई अझ प्रभावकारी बनाइने प्रतिबद्धता जनाए।

स्वास्थ्य शाखाका संयोजक कृत्यानन्द यादवले पालिकाभित्रका लक्षित उमेर समूहका सबै बालबालिकालाई राष्ट्रिय खोप कार्यक्रमअनुसार आवश्यक सबै खोपहरू उपलब्ध गराइसकिएको जानकारी दिए। संयोजक यादवले खोप अभियानमा महिला स्वास्थ्य स्वयंसेविका, स्थानीय स्वास्थ्य संस्था, नागरिक समाज र अभिभावकहरूको सक्रिय सहभागिताले ठूलो भूमिका खेलेको बताए।

कार्यक्रममा खोप सुनिश्चितताको दिगोपनाका लागि रणनीति, नियमित अभिलेख अद्यावधिक, जनचेतना प्रवर्द्धन, र स्थानीय तहको स्वास्थ्य योजनामा सामुदायिक सहभागिता आवश्यक रहेकोमा वक्ताहरूले जोड दिए।

कार्यक्रमको क्रममा सूचनामूलक सामग्री वितरण, खोप अनुभव आदान–प्रदान तथा सफल अभ्यासहरू प्रस्तुत गरिनुका साथै स्वास्थ्य सेवा क्षेत्रमा उल्लेखनीय योगदान गर्ने व्यक्तित्वहरूलाई सम्मान पनि गरिएको थियो।

कार्यक्रममा सहभागीहरूले देवानगञ्ज गाउँपालिकाले स्वास्थ्य क्षेत्रमा पुर्‍याएको यो योगदानले अन्य पालिकाहरूलाई पनि उत्प्रेरणा दिने धारणा व्यक्त गरे।

कार्यक्रमले देवानगञ्ज गाउँपालिकालाई जनस्वास्थ्य सुरक्षाको दिशामा अग्रसर र उत्तरदायी स्थानीय सरकारको रुपमा स्थापित गरेको छ।

कार्यक्रममा गाउँपालिकाका अध्यक्ष, उपाध्यक्ष, वडाध्यक्षहरू, स्वास्थ्य शाखाका प्रतिनिधिहरू, महिला स्वास्थ्य स्वयंसेविका, स्वास्थ्यकर्मी, सञ्चारकर्मी तथा विभिन्न संघसंस्थाका प्रतिनिधिहरूको उल्लेखनीय उपस्थिति रहेको थियो।

प्रकाशित मिति: २०२५-०६-२६ , समय : ०७:२४:१८ , १ हप्ता अगाडि

error: Content is protected !!