
देवानगञ्ज । बर्जु गाउँपालिकाले आर्थिक वर्ष २०८२/०८३ का लागि सार्वजनिक गरेको ५९ करोड १३ लाख ६० हजार ७४७ रुपैयाँको बजेटले आगामी वर्षको विकास र परिवर्तनको सम्भावना प्रस्तुत गरेको छ। “कृषि, शिक्षा, स्वास्थ्य, उद्योग, पर्यटन र पूर्वाधार : सुन्दर, समृद्ध बर्जुको आधार” भन्ने नारामार्फत गाउँपालिकाले समग्र विकासको परिकल्पना अघि सारेको छ। अब प्रश्न उठ्छ— यो परिकल्पना भाषणमा सीमित रहनेछ कि व्यवहारमा देखिनेछ?
गत वर्षको आम्दानी लक्ष्यमा कमी, समानीकरण अनुदानमा आएको कटौती र योजना भुक्तानीमा देखिएको समस्या आफैंमा गम्भीर चेतावनी हुन्। यी कमजोरीहरूको पुनरावृत्ति नगरियोस् भन्ने अपेक्षा सर्वसाधारणको छ। गाउँसभामा अघिल्लो वर्षको वास्तविक आम्दानी–व्यय विवरण आउँदो विशेष सभामा मात्र प्रस्तुत गरिने भनिएपनि, वित्तीय पारदर्शिता तत्काल सुनिश्चित गरिनु आवश्यक छ।
बर्जु गाउँपालिकाको नीति तथा कार्यक्रमले शिक्षा, स्वास्थ्य, महिला, दलित, अल्पसंख्यक, विपद् व्यवस्थापनलगायतका क्षेत्रमा छुट्टाछुट्टै योजना र समिति बनाउने कुरा उल्लेख गरेको छ। तर योजनाको नामकरण, संख्या वा घोषणा मात्र पर्याप्त होइन। प्रभावकारी कार्यान्वयन, मूल्यांकन, र परिणाममूलक सेवा वितरण अनिवार्य छ।
विशेषतः शिक्षा र स्वास्थ्य क्षेत्र सुधारका लागि छुट्याइएको बजेटले गुणस्तरीय सेवा, दक्ष जनशक्ति, आवश्यक संरचना र सर्वसुलभ पहुँच सुनिश्चित गर्नुपर्छ। कृषि, पर्यटन र साना उद्योग प्रवर्द्धनमा गरिएको प्राथमिकता व्यवहारमा उतारियो भने यसले स्थानीय अर्थतन्त्रलाई चलायमान बनाउन सक्छ।
बजेटले सामाजिक समावेशीता र लक्षित समूहहरूलाई छुट्टै पहिचान दिएको छ, जुन सकारात्मक अभ्यास हो। महिला, दलित र अल्पसंख्यकको हकमा बनाइएका कार्यक्रम दातृ र देखावटी भन्दा वास्तविक सशक्तिकरणमा आधारित हुन जरुरी छ। त्यसका लागि योजना छनोटदेखि कार्यान्वयनसम्म उनीहरूको प्रत्यक्ष सहभागिता अनिवार्य गरिनुपर्छ।
यसपालिको बजेटमा उल्लेखित ‘बहुआयामिक योजना’ को सार्थकता त्यतिखेर मात्र हुनेछ, जब योजना छानिने प्रक्रियाबाटै राजनीतिक प्रभाव, गुटबन्दी र पहुँचको आधार हटाइनेछ। विकासमा सबै वडाको समान पहुँच सुनिश्चित गर्नु नै सन्तुलित विकासको पहिलो सर्त हो।
प्रकाशित मिति: २०२५-०६-२५ , समय : ०९:२१:२८ , १ हप्ता अगाडि