विराटनगर। रासायनिक मल हिनामिना गरी भ्रष्टाचार गरेको आरोपमा विशेष अदालत, काठमाडौंबाट दोषी ठहर भई फरार रहेका एक व्यक्तिलाई प्रहरीले पक्राउ गरेको छ।
पक्राउ पर्नेमा इटहरी उपमहानगरपालिका–११ का दिलचन्द्र राई रहेका छन्। उनलाई विशेष अदालतले २०७९ साल भदौ २८ गते भ्रष्टाचार मुद्दामा दोषी ठहर गर्दै २ वर्ष ६ महिना कैद सजाय र ७ लाख ५३ हजार ६७५ रुपैयाँ जरिवाना तोकेको थियो। फैसला सुनाएपछि राई फरार रहँदै आएका थिए।
गोप्य सूचनाका आधारमा बिहीबार सामुदायिक प्रहरी सेवा केन्द्र, भवानीपुर इटहरीबाट खटिएको टोलीले राईलाई घरको आसपासबाट नियन्त्रणमा लिएको हो।
प्रहरीका अनुसार पक्राउ परेका राईलाई थप कानुनी प्रक्रिया अघि बढाउन जिल्ला अदालत, सुनसरीमा पेश गरिएको छ।
प्रकाशित मिति: २०२५-०६-२० , समय : १९:५६:३९ , ८ महिना अगाडि