बि.स. : २०८२ माघ २६, सोमबार

सामुदायिक प्रहरी सेवा केन्द्रद्वारा समाजसेवी, सुरक्षाकर्मी र सञ्चारकर्मी सम्मानित

आर्य न्युज / कोशी प्रदेश सम्वाददाता 5238  पटक हेरिएको

विराटनगर। “समुदाय र सुरक्षाबीच सशक्त सहकार्य” भन्ने मूल मन्त्रलाई आत्मसात् गर्दै सामुदायिक प्रहरी सेवा केन्द्र तीनपैनी, विराटनगरको आयोजनामा एक भव्य तथा गरिमामय सम्मान समारोह सम्पन्न भएको छ। कार्यक्रममा विभिन्न क्षेत्रका विशिष्ट व्यक्तित्वहरूलाई औपचारिक रूपमा सम्मान गरिएको थियो।

समारोहमा उद्योग संगठन मोरङका नवनिर्वाचित अध्यक्ष तथा केन्द्रका सल्लाहकार नन्दकिशोर राठी, जिल्ला प्रहरी कार्यालय मोरङका प्रमुख प्रहरी उपरीक्षक (एसपी) नारायण प्रसाद चिमरीया, तथा नेपाल पत्रकार महासंघ कोशी प्रदेश परिषद सदस्य एवं केन्द्रका सचिव वरिष्ठ पत्रकार भोजराज घिमिरेलाई विशेष सम्मान प्रदान गरिएको हो।

कार्यक्रमको अध्यक्षता केन्द्रकी अध्यक्ष मिना जोशीले गर्नुभयो। प्रमुख अतिथिको रूपमा उपस्थित एसपी चिमरीयाले हालको समयको सन्दर्भमा सामुदायिक प्रहरीको भूमिकाको प्रशंसा गर्दै भन्नुभयो,
“सुरक्षामा प्रहरी मात्र होइन, समुदायको पनि सक्रिय सहभागिता आवश्यक छ। अघिल्लो वर्षहरूमा मोटरसाइकल चोरीजस्ता घटना प्रशस्त थिए, तर अहिले ती घटनामा उल्लेखनीय कमी आएको छ। सामुदायिक प्रहरी सेवा केन्द्रले जनचेतना अभिवृद्धिमा खेलेको भूमिका अत्यन्त सकारात्मक छ।”

 

विशेष अतिथिका रूपमा उद्योग संगठन मोरङका अध्यक्ष एवं समाजसेवी यादव पोखरेल, समाजसेवी चम्पालाल राठी, बैरा माविकी प्रधानाध्यापक मिनु अधिकारी, समाजसेवी राजेन्द्र रिजाल, शिक्षिका रमा रिजाल, प्रभु बैंकका प्रबन्धक अजय मण्डल, केन्द्रका सल्लाहकार विजय शर्मा, कोषाध्यक्ष सन्तोष बाहेती, सदस्य पद्मा पौडेल, हिरा थापा, वडा नं. २ का वडा सदस्य तथा केन्द्र सदस्य शेरसिंह दुगड, र सुशील मुन्द्रा लगायतको उल्लेखनीय उपस्थिति रहेको थियो।

कार्यक्रमको स्वागत मन्तव्य केन्द्रका उपाध्यक्ष तथा पूर्व प्रहरी उपरीक्षक बिधानन्द माझीले दिनुभएको थियो। उहाँले केन्द्रले स्थापना कालदेखि समाजमा सुरक्षा र सामाजिक उत्तरदायित्वको क्षेत्रमा निर्वाह गर्दै आएको भूमिकालाई उजागर गर्नुभयो।

अध्यक्ष मिना जोशीले केन्द्रले हालसम्म सञ्चालन गरेका सुरक्षा, सहयोग र चेतनामूलक कार्यक्रमहरूबारे जानकारी दिँदै आगामी दिनहरूमा अझ प्रभावकारी रूपमा अभियानहरू सञ्चालन गरिने प्रतिवद्धता व्यक्त गरिन्।

सम्मानित उद्योग संगठन मोरङ अध्यक्ष नन्दकिशोर राठीले आफ्नो भनाइमा भने,
“सामुदायिक प्रहरी सेवा केन्द्रको कार्यशैली अत्यन्तै प्रशंसनीय छ। हामी उद्योग क्षेत्रमा मात्र होइन, समाजसेवामा पनि जोड दिन्छौं। आगामी दिनमा केन्द्रसँग अझ घनिष्ठ सहकार्य हुनेछ।”

यस अवसरमा अध्यक्ष राठी, समाजसेवी चम्पालाल राठी, पवनकुमार पुरोहित र देवकी शर्माको संयुक्त पहलमा बैरा माध्यमिक विद्यालयलाई चारवटा पंखा प्रदान गरिएको थियो। ती सामग्री विद्यालयकी प्रधानाध्यापक मिनु अधिकारी र शिक्षिका रमा रिजाललाई सामुदायिक प्रहरी सेवा केन्द्रमार्फत हस्तान्तरण गरियो।

कार्यक्रमको सञ्चालन केन्द्रकी पदेन सदस्य तथा प्रहरी हलदार तुलसा खड्काले गर्नुभएको थियो भने सहायक हलदार कल्पना कटेलले सहायक भूमिका निर्वाह गर्नुभएको थियो।

सामुदायिक प्रहरी सेवा केन्द्र तीनपैनीले आयोजना गरेको यो सम्मान समारोहले समाजमा सकारात्मक ऊर्जा प्रवाह गर्नुका साथै सुरक्षा र सामाजिक सेवाका प्रतिनिधिहरूबीच सशक्त सहकार्यको सन्देश दिन सफल भएको छ।

प्रकाशित मिति: २०२५-०६-२० , समय : १३:३५:३९ , ८ महिना अगाडि

error: Content is protected !!