बि.स. : २०८२ आषाढ १९, शुक्रबार
"प्रशासनदेखि प्रदेश सभा हल्लायो, केदार कार्कीले गरे यस्तो सनसनीपूर्ण खुलासा" LIVE

बिमा कम्पनीको नाममा ठगी धन्दा, बुबा–छोरा न्यायको खोजीमा

राधेश्याम कुशवाहा / मधेश प्रदेश 5120  पटक हेरिएको

गोडैता। सर्लाही जिल्लाको गोडैता नगरपालिकाका एक बुबा छोरा जीवन बीमा (लाईफ इन्स्योरेन्स) कम्पनीका दलालबाट ठगिएको गम्भीर घटना सार्वजनिक भएको छ।

ठगीमा परेको मात्र होइन, अहिले आएर ती दलालहरूद्वारा पीडितहरूलाई उल्टै धम्कीसमेत दिइएको आरोप लागेको छ।

पीडितहरू अहिले न्यायको खोजीमा विभिन्न निकाय धाउँदै भौतारिन बाध्य भएका छन्। पिडितका अनुसार आफूहरू ज्योति ‘लाईफ इन्स्योरेन्स’ कम्पनीका एजेन्ट बाट ठगिएको स्पष्ट प्रमाण सहित कानुनी बाटो रोजेका पनि न्यायका लागि सम्बन्धित निकाय उदासिन रहेको उनिहरुको आरोप छ। ।

सुरुमा बीमा गराइदिने, भविष्यमा राम्रो लाभ हुने र प्रिमियम सुविधा जस्ता अनेक लोभ देखाइ एजेन्टले विश्वास जिते। त्यसपछि उनीहरूले बुवा–छोरा दुवैबाट आर्थिक रकम असुले। तर दोस्रो किस्ताका रकम खातामा जम्मा नगरी सम्पर्क समेत टुटाएका थिए।

गोडैता –२, बेल्वाजब्दीका स्थानीय राजकुमार महतो र उनका छोराले ज्योति लाईफ नाम गरेको विमा कम्पनीको एजेन्ट बरहथवा टाँडी निवासी किसकान्त महतो बाट १० लाख बराबरको १५ बर्ष समयअवधि भएको विमा गराएको थिए ।

पीडितहरूका अनुसार बिमा दलालले बिमा गरिदिने भन्दै दोस्रो किस्ताका लागि लिएको रकम खातामा जम्मा नगरी ठगी गरेको बताएका छन ।

अझ खतराको कुरा त के छ भने, अहिले ती दलाल खुलेआम धम्की दिन थालेका छन्। “हामीलाई पैसाको लोभ देखाएर झुक्याए। अहिले त उल्टै धम्क्याउँदैछन। हामी डरको वातावरणमा छौं,” छोरा रञ्जित महतोले भने।

दलाल किसकान्त महतोले २०७८ माघ ६ गते राजकुमार महतोको बिमा गरिदिने भन्दै पहिलो किस्ताको रूपमा १ लाख १६ हजार ६ सय ४० रुपैयाँ बुझेका थिए।

त्यसपछि १० महिनापछि २०७९ मंसिर २७ गते छोरा रंजित महतोको पनि बिमा गरिदिने भन्दै त्यत्तिकै रकम दोस्रो पटक लिएको देखिन्छ। तर, दोस्रो किस्तापछि दलालले बिमा खातामा रकम जम्मा नगरेको पाइएको पीडितको भनाइ छ।

पीडितहरू अशिक्षित भएको र दलालसँग विश्वासको सम्बन्ध बनेको कारण शुरुमा ठगिएको चाल नपाएको उनीहरूको गुनासो छ। तर, पुरानो रसिद रंगीन र पछिल्लो सादा भएकोमा शंका लागेर बिमा कम्पनीमा बुझ्दा आफ्नो नाममा रकम जम्मा नभएको खुलेको उनीहरू बताउँछन्।

जब पीडितले दलालसँग सम्पर्क गर्न खोजे, उसले घरमा हुँदा पनि बाहिर रहेको बहाना बनाउने, फोन नउठाउने, र अन्ततः भेट्नै नमानेको गुनासो गरेका छन्।

पछि मात्र पीडित आफन्त र छिमेकीको सहयोगमा घरमै पुगेर दलाललाई भेटेका थिए। त्यसबेला दलालले प्रहरीमा नजान आग्रह गर्दै २०८० फागुन १० गतेभित्र पैसा फिर्ता गर्ने सहमति गराएका थिए ।

तर सहमतिपछि पनि उनले पैसा फिर्ता नगरेको र पीडितको मोबाइल नम्बर समेत ब्ल्याकलिस्टमा राखेको राजकुमार महतोले जानकारी दिए। छोरा रंजित महतोका अनुसार दलालले बुबाको किस्ता तिर्ने बेला पुरानो रसिदको फोटो खिचेर पठाउन भनेका थिए।

त्यसै अवसरमा घरमा कोही नभएको मौका छोपी, रंजितकी आमालाई पुरानो रसिदको फोटोकोपी दिँदै फरार भएका थिए। यति हुँदा पनि पीडितले रकम फिर्ता माग्दा दलालले विभिन्न बहाना बनाउँदै टार्दै आएको, कार्यालय बन्द रहेको, वा व्यस्त भएको जस्ता झूटो बहाना बनाएको बताइएको छ।

पीडित राजकुमार महतोले ऋण लिएर बिमा किस्ताको पैसा तिरेको र अहिले ठगिएको महसुस गर्दा आफू गहिरो आर्थिक र मानसिक पीडामा परेको बताए।

किसकान्त महतोले विभिन्न मीठा कुरा गर्दै आफन्तजस्तै व्यवहार गरेर विश्वास जितेर ठगी गरेकोमा उनीहरू अझ दुःखी छन्।

यो घटनापछि पीडितले २०८१ कार्तिक १३ गते जिल्ला प्रशासन कार्यालय, सर्लाहीमा ठगीको घटनाबारे स्पष्ट विवरणसहित निवेदन दर्ता गराएका छन्। उनीहरूले सो उजुरीमा सम्बन्धित दलालविरुद्ध कानुनी कारबाहीको माग राखेका छन्।

“न्यायको खोजीमा जिल्ला प्रशासनदेखि प्रहरी कार्यालयसम्म धाएका छौं, तर हाम्रो सुनुवाइ भएको छैन,“ पीडित बुबाले दुखेसो पोखे। तर, पीडितका अनुसार अहिलेसम्म कुनै कारवाही अघि नबढेको र सम्बन्धित निकायहरू उदासिन देखिएको छ। थप चिन्ताको विषय त के छ भने दलालले अहिले उल्टै पीडितहरूलाई धम्की दिन थालेको बताइएको छ।

यो घटना बारे जिल्ला प्रशासन कार्यालय सर्लाही प्रमुख जिल्ला अधिकारी तुलसी बहादुर श्रेष्ठ लाई संग बुझन खोज्दा आफूलाई जानकारी नरहेको र जानकारी लिएर कानुनी प्रक्रिया अगाडी बढाउने आश्वासन दिएको पनि २ महिना भन्दा बढी भएपनि कुनै प्रक्रिया अगाडी बढाइएको छैन ।

यति गम्भीर मुद्दामा पनि प्रशासन उदासिन देखिएको छ।   ज्योति विमा कम्पनीको हरिवन शाखाका शाखा अधिकृत दिनेश साहका अनुसार एजेन्ट किस्कान्त महतो लामो समयदेखि सम्पर्कविहीन अवस्थामा छन्।

साहका अनुसार महतो करिब एक वर्षदेखि कार्यालयको सम्पर्कमा नरहेको र फोनसमेत नउठाउने अवस्था रहेको बताएका छन्। साहले बताए अनुसार, अर्जेन्ट महतोले कैयौं व्यक्तिसँग रकम ठगी गरेको गुनासो आएको छ।

“यस्ता व्यक्तिका कारण कम्पनीको प्रतिष्ठामा आँच आएको छ,“ शाखा अधिकृत साहले भने, “साथै आम नागरिकको विमा प्रतिको विश्वास पनि घट्दो अवस्थामा छ।“

साहले आफूले केही पीडितलाई प्रहरीमा उजुरी दिन सुझाव दिएको पनि बताएका छन्। “यदि आवश्यक परे जहाँ पनि उपस्थित हुन म तयार छु,“ उनले बताए।

साहका अनुसार कम्पनीले महतोको खोजीका लागि आन्तरिक प्रक्रिया अघि बढाइसकेको छ, तर हालसम्म कुनै ठोस नतिजा ननिस्किएको जनाइएको छ।

ज्योति लाईफ नाम गरेको विमा कम्पनीका एजेन्टले सेवाग्राहीलाई ठगी गरेको सम्बन्धि पत्र जिल्ला प्रशासन कार्यलयबाट जिल्ला प्रहरी कार्यलय, सर्लाहीलाई प्राप्त नभएको जिल्ला प्रहरी कार्यालय सर्लाहीका मुद्दा शाखाका प्रहरी निरिक्षक तथा निमित्त प्रहरी प्रवक्ता बलिस्टर सिंह बताउँछन ।

हामीलाई पत्र आएको भए दुवै पक्षलाई उपस्थिति गराईदिन्थे, प्रहरी निरिक्षक सिंहले भने । पिडितले जिल्ला प्रहरी कार्यालय सिधैं उजुरी गर्न सक्छ मिल्छ भने सोधिएका प्रश्नमा जिल्ला प्रशासन कार्यालय भएर जिल्ला प्रहरी कार्यालयमा आउँदा मुद्दा बलियो हुने प्रहरी निरिक्षक सिंहको भनाई छ ।

प्रकाशित मिति: २०२५-०६-२० , समय : १०:५३:४६ , २ हप्ता अगाडि

error: Content is protected !!