बि.स. : २०८२ आषाढ १९, शुक्रबार
"प्रशासनदेखि प्रदेश सभा हल्लायो, केदार कार्कीले गरे यस्तो सनसनीपूर्ण खुलासा" LIVE

इजरायली आक्रमण र अन्तर्राष्ट्रिय कूटनीतिमा थप तनाव : तेहरान खाली गर्न ट्रम्पको आग्रह

Aarya News Desk 3461  पटक हेरिएको

काठमाडौं : इरान र इजरायलबीचको बढ्दो सैन्य तनावका बीच अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले तेहरानको एक करोड जनसंख्यालाई शहर खाली गर्न आग्रह गरेका छन्। इजरायली सैन्य गतिविधिको चर्को समर्थन गर्दै ट्रम्पको यस्तो अभिव्यक्ति आएको हो, जुनले आगामी दिनमा पश्चिम एसियामा सम्भावित ठूलो संकटको संकेत दिएको छ।

क्यानडामा सम्पन्न जी–७ शिखर सम्मेलनका क्रममा ट्रम्पले आफ्नो ट्रुथ सोसलमार्फत सार्वजनिक गरेको पोस्टमा ‘तेहरान तत्काल खाली गरियोस्’ भन्ने सन्देश दिएका छन्। यद्यपि उनले यस्तो चेतावनीको ठोस कारण खुलाएका छैनन्। इजरायली सेनाले यसअघि तेहरानको केही क्षेत्रमा आक्रमणको सम्भावना जनाउँदै स्थानीयलाई खाली गर्न सूचना जारी गरिसकेको पृष्ठभूमिमा ट्रम्पको भनाइ आएको हो।

पूर्वराष्ट्रपति ट्रम्पका अनुसार, ‘मैले सम्मेलनबाट चाँडै फर्किनु युद्धविरामको तयारीका लागि होइन, अझ गम्भीर विषयको संकेत हो।’ उनले ‘केही ठूलो हुने’ भन्दै प्रतीक्षा गर्न सुझाएका छन्। तर उनले स्पष्ट रुपमा त्यो ठूला घटनाबारे केही खुलाएका छैनन्। यस्तो रहस्यमय भाषा र चेतावनीले अन्तर्राष्ट्रिय समुदायमा थप असहजता सिर्जना गरेको छ।

चीनको आपत्ति : ‘आगोमा घिउ खन्याउने प्रयास’

ट्रम्पको अभिव्यक्तिप्रति चीनले कडा आपत्ति जनाएको छ। चिनियाँ विदेश मन्त्रालयका प्रवक्ता गुओ जियाकुनले भने, ‘दबाब, धम्की र उत्तेजक भाषा शान्तिको मार्ग होइन।’ उनले सबै पक्षलाई संयमता अपनाउन र तनाव नियन्त्रणका उपाय अवलम्बन गर्न आग्रह गरे।

‘इजरायलमाथि विशेष प्रभाव भएका देशहरूले अझै बढी जिम्मेवार भूमिका निर्वाह गर्नुपर्ने समय हो,’ प्रवक्ता गुओले थपे।

अन्तर्राष्ट्रिय परिदृश्य : युद्धविराम कि युद्धतर्फ उन्मुखता?

इजरायल–इरान सम्बन्धमा हालको घटनाक्रमलाई लिएर विश्व समुदायमा चिन्ता बढेको छ। इजरायली प्रधानमन्त्री नेतन्याहुले इरानमाथिको आक्रमणलाई तीव्र बनाइरहेका बेला ट्रम्पजस्तो प्रभावशाली नेताबाट आएको सशक्त समर्थनले कूटनीतिक प्रयासभन्दा सैन्य मार्गलाई प्राथमिकता दिने सन्देश दिन थालेको छ।

यसैबीच, फ्रान्सका राष्ट्रपति म्याक्रोँले जी–७ शिखर सम्मेलनबाट ट्रम्पको शीघ्र प्रस्थानलाई ‘युद्धविरामका लागि पहल’ भन्ने टिप्पणी गरे पनि ट्रम्पले त्यसलाई खण्डन गरेका छन्।

प्रकाशित मिति: २०२५-०६-१८ , समय : १०:०६:४३ , २ हप्ता अगाडि

error: Content is protected !!