
विराटनगर । सुनसरीका दुई स्थानबाट प्रहरीले ठूलो परिमाणमा लागू औषध गाँजा बरामद गर्दै दुई वटा ट्रक नियन्त्रणमा लिएको छ। धरान र इटहरी क्षेत्रबाट बरामद गरिएको गाँजाको कुल तौल ४ हजार २ सय ३० किलोग्राम रहेको छ।
असार २ गते, धरान उपमहानगरपालिका–१३ स्थित कोशी लोकमार्गमा भेडेटारबाट धरानतर्फ आउँदै गरेको ट्रक (प्रदेश १-०२-००२ ख ०८४८) चेकजाँच गर्दा अदुवा र बन्दा कोभीको बोरामुनि लुकाइ राखिएको २ हजार १ सय ३० किलोग्राम गाँजा बरामद गरिएको थियो। गाँजा ७० वटा प्लास्टिकका बोरामा प्याक गरिएको थियो।
त्यस्तै, असार ३ गते, इटहरी उपमहानगरपालिका–२० स्थित तरहरा जंगल नजिकै कोशी लोकमार्गमा अर्को ट्रक (ना. ५ ख ६११६) चेकजाँच गर्दा २ हजार १ सय किलोग्राम गाँजा फेला परेको प्रहरीले जनाएको छ। उक्त ट्रकमा पनि गाँजा ७० वटा बोरामा प्याक गरिएको थियो, जसलाई माथिबाट बन्दाकोभी र आलुका बोराले ढाकिएको थियो।
दुबै घटनामा संलग्न रहेको अभियोगमा धनकुटा शहिदभूमी गाउँपालिका–६ का राजेन्द्र राई, सुनिल राई र बराहक्षेत्र–९ का सुमन राई पक्राउ परेका छन्।
यसैबीच, भेडेटार इलाका प्रहरी कार्यालयको टोलीले धनकुटा साँगुरीगढी गाउँपालिका–६ स्थितबाट पाख्रिवास नगरपालिका–८ का नारायण प्रसाद राईलाई ९ किलो ९ सय ग्राम गाँजासहित नियन्त्रणमा लिएको छ।
प्रहरीले बरामद गरिएको गाँजासम्बन्धी थप अनुसन्धान भइरहेको जनाएको छ।
प्रकाशित मिति: २०२५-०६-१७ , समय : २२:४८:१२ , २ हप्ता अगाडि