
Israel And Iran War : इरान र इजरायलबीचको द्वन्द्व थप चर्किँदै गएको छ। दुवै देशका नेताहरूले आ–आफ्ना विरोधीमाथि कठोर प्रतिक्रिया जनाउने चेतावनी दिएका छन्।
गएको शुक्रबार इजरायलले इरानका आणविक सुविधाहरू, सैन्य संरचना तथा घना बस्ती भएका स्थानहरूमा लक्षित हवाई आक्रमण गरेपछि स्थिति तनावपूर्ण बनेको हो। त्यसको प्रतिकारस्वरूप इरानले ड्रोन तथा ब्यालिस्टिक क्षेप्यास्त्रमार्फत इजरायलमाथि व्यापक हमला गरेको जनाएको छ।
बीबीसीका अनुसार, हिजो भएको इजरायली आक्रमणमा इरानको सशस्त्र बलको गुप्तचर इकाइका प्रमुखको मृत्यु भएको छ। इरानी हमलापछि १० भन्दा बढी इजरायली नागरिक घाइते भएको जनाइएको छ।
इरानको स्वास्थ्य मन्त्रालयले शुक्रबारदेखि इजरायली आक्रमणमा परी कम्तीमा २२४ जना इरानी नागरिकको मृत्यु भएको जनाएको छ। इजरायलमा भने इरानी आक्रमणबाट कम्तीमा १० जनाको मृत्यु भएको पुष्टि गरिएको छ।
युद्धविरामका लागि प्रयास भइरहे पनि इरानले आक्रमण जारी रहँदा वार्ता सम्भव नभएको बताएको छ। इजरायली प्रधानमन्त्री बेन्जामिन नेतन्याहूले भने इरानको आणविक क्षमता विकास रोक्नु नै आफ्नो सरकारको प्रमुख उद्देश्य रहेको बताएका छन्।
यता, अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले द्वन्द्व समाधानका लागि संयुक्त राज्य अमेरिका संलग्न हुन सक्ने संकेत दिएका छन्। उनले आफ्नो रुसी समकक्षी भ्लादिमिर पुटिनसँग सम्भावित मध्यस्थताको विषयमा छलफल गर्न तयार रहेको बताएका छन्। यद्यपि, उनले अमेरिका हाल सैन्य कारबाहीमा संलग्न नरहेको प्रस्ट पारेका छन्।
स्थिति थप जटिल बन्दै जाँदा क्षेत्रीय र वैश्विक सुरक्षा चिन्ता गहिरिँदै गएको छ। अन्तर्राष्ट्रिय समुदायले दुवै पक्षलाई संयमता अपनाउन आग्रह गरिरहेको छ।
प्रकाशित मिति: २०२५-०६-१६ , समय : ०७:३९:०५ , ३ हप्ता अगाडि