
देवानगञ्ज । यस वर्षको मनसुन नेपालमा सक्रिय बन्दै गएको छ। कोशी प्रदेशबाट सुरु भएको मनसुन हाल लुम्बिनी प्रदेशसम्म फैलिसकेको छ भने बाँकी प्रदेशहरूमा पनि प्रभाव विस्तार भइरहेको छ।
जल तथा मौसम विज्ञान विभागका अनुसार हाल कोशी, मधेस, बागमती, गण्डकी र लुम्बिनी प्रदेशका विभिन्न स्थानमा मनसुनी वायुको प्रभाव देखिएको छ। पश्चिमी भागमा भने पश्चिमी वायु र स्थानीय वायुले आंशिक असर पुर्याइरहेका छन्।
देशभर आंशिकदेखि सामान्य बदलीको अवस्था रहेको विभागले जनाएको छ। कोशी, बागमती, गण्डकी, लुम्बिनी र कर्णालीका केही स्थानमा मेघगर्जन, चट्याङसहित हल्कादेखि मध्यम वर्षा भइरहेको छ।
सोमबार कस्तो रहनेछ मौसम?
विभागका अनुसार सोमबार पनि मौसम बदली नै रहनेछ। कोशी, मधेस, बागमती, गण्डकी, लुम्बिनी र सुदूरपश्चिमका केही स्थानमा मेघगर्जनसहित हल्कादेखि मध्यम वर्षा हुने सम्भावना छ। अन्य प्रदेशहरूमा पनि आंशिक बदली रहने र थोरै ठाउँमा पानी पर्ने अनुमान गरिएको छ।
भारी वर्षाको चेतावनी
कोशी, गण्डकी, लुम्बिनी र सुदूरपश्चिम प्रदेशका केही स्थानहरूमा भारीदेखि अत्यधिक भारी वर्षा हुने सम्भावना रहेको विभागले जनाएको छ।
उच्च पहाडी र हिमाली क्षेत्रहरूमा हल्का वर्षासँगै हिमपात पनि हुन सक्ने सम्भावना छ।
औसतभन्दा बढी वर्षाको पूर्वानुमान
विभागले यस वर्ष मनसुन अवधिभर देशभर औसतभन्दा बढी वर्षा हुने प्रक्षेपण गरेको छ। मौसम विज्ञहरूले मनसुन अझै पश्चिमतर्फ विस्तार हुने संकेत दिएका छन्।
सतर्कता अपनाउन आग्रह
बाढी, पहिरो र अन्य वर्षा–सम्बन्धी जोखिमहरूलाई ध्यानमा राख्दै विभागले सर्वसाधारण तथा स्थानीय निकायलाई सतर्क रहन अनुरोध गरेको छ।
प्रकाशित मिति: २०२५-०६-१६ , समय : ०७:०२:०२ , ३ हप्ता अगाडि